एजेन्सी–नयाँ दिल्ली तय भइसकेको भारत भ्रमण जापानका प्रधानमन्त्री सिन्जो आवे र बंगलादेशका विदेशमन्त्री अब्दुल मोमिनले हालैका दिनमा रद्द गरेपछि अहिले सम्बद्ध देशका मिडियामा कारण के हुन सक्छ भनेर लेखाजोखा भइरहेको छ।
बंगलादेशका विदेशमन्त्री मोमिन र गृहमन्त्री सदुजमान खानले आफ्नो भारत भ्रमण रद्द गर्नुमा भारतको नागरिकता विधेयकलाई कारण मानिएको छ। भारतको फरक–फरक भागमा नागरिकता संशोधन कानुनको विरोध भइरहेको छ। खासगरी पूर्वोत्तर राज्यमा।
यो कानुनलाई लिएर भएका बहस र प्रदर्शनको असर भारतको दोस्रो देशसँगको सम्बन्धमा पनि परिरहेको पछिल्ला घटनाक्रमले देखाएको छ। जापानका प्रधानमन्त्री आबेको भारत भ्रमण रद्द भएपछि त्यहाँका प्रमुख क्याबिनेट सचिव योसिहिदे सुगाले टोकियोमा एक पत्रकार सम्मेलनका क्रममा भारतमा जे भइरहेको छ त्यसबाट जापान निराश रहेको जनाएका थिए।
आइतबार भारत आउने कार्यक्रम रहेको थियो। उनको भ्रमण १५ देखि १७ डिसेम्बरसम्म हुने तय थियो। उनले भारतका प्रधानमन्त्री मोदीसँग पूर्वोत्तर राज्य गुवाहाटीमा वार्ता गर्ने कार्यक्रम रहेको थियो। जबकी नागरिकता विधेयकका कारण गुवाहाटीमा अहिले चर्को विरोध प्रदर्शन भइरहेको छ। यसपालि भारत र जापानको शिखरवार्ता गर्ने कार्यक्रम रहेको थियो। तर, अचानक रद्द गरियो।
यो भ्रमण रद्द भएपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता रबिस कुमारले ट्विट गर्दै दुवै देशले वार्ताका लागि दुवैलाई सुविधायुक्त तिथि तय गर्ने बताएका छन्। यद्यपि यो वार्ता अब कहिले हुन्छ भन्ने निश्चित छैन। आबेको भारत भ्रमण रद्द भएको विषय जापानका मिडियामा पनि चर्चाको विषय बनिरहेको छ।
जापानको म्यागेजिन निक्केई एसियन रिब्युले यसमा ८ सय शब्द खर्चेको छ। नागरिकता संशोधन कानुनका बारेमा केन्द्रित लेखको शीर्षक रहेको छ, ‘भारतको यो परिवर्तन अनैतिक र आफैंलाई हराउने खालको छ’। लेखमा आबेको भ्रमण रद्दको बारेमा उल्लेख गर्दै नागरिकता विधेयकको आलोचनासमेत गरिएको छ।
यसमा धार्मिक भेदभावमार्फत् भारतले प्रवासीलाई पेल्न खोजेको आरोप लगाइएको छ। यसले विदेशनीति र सुरक्षामा पनि असर गर्ने उल्लेख गरिएको छ। भारतलाई चेतावनी समेत दिँदै भनिएको छ, ‘‘अरू देशले पनि उसले गरेको जस्तै गरे भने के हुन्छ रु किनकि भारतीय नागरिक पनि अरू देशमा बसिरहेका छन्।’’
द जापान टाइम्सले गुवाहिटीमा भीड र प्रहरीकाबीच हिंस्रक संघर्ष भइरहेको र स्थानीय हालतलाई ध्यानमा राख्दै आबेको भ्रमण स्थगित गर्ने निर्णय भएको जनाएको छ। समाचारमा जनाइएअनुसार चीनलाई काबुमा राख्नका लागि जापानले भारतसँग कूटनीतिक र सामरिक सम्बन्ध मजबुत पार्न खोजेको थियो।
जापानकै अर्को अखबार असाई सिम्बुनले पनि भ्रमण स्थगनको समाचार प्रकाशित गरेको छ। दुवै देशले सैन्य सहयोगमाथि पनि एक सम्झौता गर्ने तयारी गरेको जनाइएको छ। आबे मोदीका साथ भ्रमणका क्रममा मणिपुरको राजधानी इम्फाल समेत जाने कार्यक्रम थियो। सन् १९४१ मा इम्फाल ब्याटलका क्रममा ३० हजारभन्दा बढी जापानी सैनिक मारिएका थिए। त्यसलाई जापानी सेनाको सबैभन्दा खराब अपरेसनका रूपमा समेत लिइन्छ। बीबीसी