एजेन्सी– सय वर्ष अगाडिको नियम अनुसार स्ट्रेस अर्थात दबाबले मानिसको बौद्धिक र शारीरिक दुवै प्रदर्शनमा सुधार ल्याउन सक्छ तर एउटा निश्चित बिन्दु सम्म मात्र। २९ वर्षीय निकोलस ग्रुमले दैनिक आफ्नो काममा चरम दबाबको सामना गर्नुपर्छ। तापनि उनले यसलाई नकारात्मक रुपमा नलिएर सदुपयोग गरिरहेका छन्। उनी भन्छन्, “अरु मान्छे जे कुराबाट भाग्छन् हामी त्यही अवस्था जानिजानि निम्त्याउछौँ। किनकी कामको दबाब अनि स्ट्रेसलाई केही हदसम्म स्वीकार गर्ने गर्नुपर्छ।”
उनी चिकित्सकीय क्षेत्रमा काम गर्छन् जसकारण पनि आफूहरुका लागि स्ट्रेस मद्दतगार हुने गरेको उनले बताए। उनी थप भन्छन्, “विशेषगरी गम्भीर दुर्घटनाको समयमा केही हदसम्मको स्ट्रेसले मलाई सहि निर्णय लिनमा मद्दत गर्दछ। किनकी चरम दबाबकै कारण म घटनाप्रति पूर्ण केन्द्रित रहन सक्छु । त्यसैले आफ्ना वरपरका बदलिँदा परिस्थितिबारे सतर्क रहनमा स्ट्रेस धेरै उपयोगी साबित हुन सक्छ।”
तर अर्कोतर्फ अत्याधिक दबाबले चाहिँ हाम्रो दिमागलाई ओभरलोड गराउने हुँदा अवस्थालाई नियन्त्रण गर्ने क्षमता गुम्न पुग्ने पनि उनले बताए। यसरी ग्रुम सहित विभिन्न क्षेत्रमा काम गर्ने मानिसहरुका लागि स्ट्रेस प्रभावकारी प्रस्तुतीको कारक बन्ने गरेको छ। ती व्यक्तिहरु चरम दबाबको बेलामा नै आफूहरुले अझ राम्रोसँग काम गर्न सक्ने गरेको बताउँछन्। तर यसमा स्ट्रेसको सहि मात्रा पहिचान गर्नुपर्नेहुन्छ। जस्तै कामको कुनै दबाब नहुनुले मान्छेलाई राम्रो प्रदर्शन गर्नतर्फ प्रेरित गर्दैन। जस्तै समय सिमा सकिनु अगाडि वा कुनै प्रतियोगिता सुरु हुन अगाडि हामी भित्र जाग्ने त्यो उत्साहपूर्ण र दबाबको भावनाले धेरै अवस्थामा फाइदा गराउन सक्छ अनि हाम्रो प्रस्तुतीमा आफैँ सुधार आउने गर्दछ। त्यस्तै स्वास्थ्यका लागि पनि स्टे«स राम्रो हुन सक्ने युनिभर्सिटी अफ टेक्ससका प्रोफेसर जेम्स सी क्वीक बताउँछन्। उनी भन्छन्, “यो आपत्कालीन अवस्थामा उच्च प्रदर्शनका निम्ति अत्यनतै महत्वपूर्ण छ। जसका उदाहरण हुन् कतिपय खेलाडी, जो अन्तिम समयमा सर्वश्रेष्ठ प्रस्तुती दिएर विजयी हुने गर्दछन्।”
स्ट्रेस र मानव प्रसतुतीबारे सबैभन्दा पहिले १९०८ मा अध्ययन गरिएको थियो। त्यस समयमा मुसाहरुलाई एउटा काम सिकाउने क्रममा कम, मध्यम र चरम स्तरमा विद्युतिय झट्का दिइएको थियो। यसमा उनीहरुलाई मध्यम स्तरको झट्का दिँदा उनीहरुले चाँडै सिक्न सकेको पाइएको हो। यसबाहेक कम र अत्याधिक धेरै झट्का दिँदा चाहिँ तिनको क्षमतामा कमी आउने गरेको पाइएको थियो। त्यसैले पनि स्ट्रेसले एउटा निश्चित बिन्दुसम्म मात्र काम गर्ने वैज्ञानिकहरुको निष्कर्ष छ। दबाबले मान्छेको प्रस्तुतीमा सुधार ल्याउन सक्छ तर यसको मात्रा सिमित हुनुपर्छ।
यसरी वैज्ञानिक रुपमा व्याख्या गर्नुपर्दा सही मात्राको स्ट्रेसले शरीरमा अचानक मुटुको दर वृद्धि हुने, मष्तिष्कमा रक्तसंचार बढ्ने र ठूला मांसपेशी समुह सक्रिय हुने र ऊर्जाका रुपमा ग्लुकोज रिलिज हुने लगायतका प्रभाव पार्ने गरेको पाइएको छ। यस्तोमा शरीरले आपत्कालीन अवस्थाका लागि भनेर बचाएर राखेका यी सबै उपयोगी श्रोत उत्पादन हुँदा हाम्रो मस्तिष्कको सर्तकता बढ्छ र साथै मसल्समा पनि टेन्सन पैदा हुन सुरु हुन्छ जसले शारीरिक र मानसिक क्षमता बढाइदिने वैज्ञानिकहरुको निष्कर्ष रहेको छ। तर लामो समयसम्म यस किसिमको स्ट्रेसमा रहिरहनुले चाहिँ गम्भीर हानि पुर्याउन सक्छ। बीबीसी