एजेन्सी– आइतबार राति एलिएन्ज स्टेडियममा सिरी ‘ए’ मा युभेन्टसले उडिनेसीलाई ३–१ गोलले पराजित गरेको छ।
स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने अर्को गोल लियोनार्दो बोनुचीले थप एक गोल गरेर युभेन्टसले सहज जित निकालेको छ।उडिनेसीका लागि इग्नासियोले सान्त्वना गोल फर्काएका थिए।
खेलको नवौं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलबाट युभेन्टसले खेलमा अग्रता लिन सफल भएको थियो। ३७औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्न सफल भए।
४५औं मिनेटमा लियोनार्दाे बोनुचीले गोल गरेपछि युभेन्टसले पहिलो हाफमा ३–० को अग्रता लिन सफल भयो। इन्ज्युरी समयमा इग्नासियोले गोल गरेपनि युभेन्टसविरुद्ध हार टार्न सकेन। युभेन्टस ३–१ ले विजयी हुन सफल भयो।
जितपछि युभेन्टस १६ खेलबाट ३९ अंक जोडेर दोस्रो स्थानमा यथावत छ। उडिनेसी १५ अंकसहित १७औं स्थानमा छ। यता, सिरी ‘ए’ कै अर्काे खेलमा इन्टर मिलान फियोरेन्टिनासँग १–१ गोलको बराबरीमा रोकिएको छ। इन्टर मिलानका बोर्जा भालेरोले तथा फियोरेन्टिनाका डुसानले बराबरी गोल फर्काए।
बराबरीपछि इन्टर १६ खेलबाट ३९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। समान ३९ अंक रहेपनि इन्टर गोल अन्तरमा शीर्षमा रहेको हो। फियोरेन्टिना १७ अंकसहित १३औं स्थानमा छ।