काठमाडौं– सञ्चालनमा आएको ३० वर्षपछि लुम्बिनी चिनी उद्योग बन्द भएको छ। उद्योगमा ताला लागेपछि बाँकी लाखौं बक्यौता असुली र उखु बिक्रीको चिन्ताले किसान भने पिरोलिएका छन्।
चीन सरकारको सहयोगमा पश्चिम नवलपरासीको सुनवलमा स्थापित यो उद्योग २०६२ अघिसम्म सरकारी स्वामित्वमा रहेकोे थियो। २०६२ माघबाट भने सरकारले उद्योगी मनीष अग्रवाललाई ४६ बिघा जमिनमा फैलिएको उद्योग पूर्वाधारसहित २५ वर्षका लागि लिजमा दिएको थियो।
उखुखेती प्रवद्र्धनका लागि ३० वर्षअघि चीन सरकारको सहयोगमा उक्त उद्योग स्थापना भएको थियो। उद्योग स्थापनापछि यस क्षेत्रका किसानहरू उखुखेतीमा आकर्षित भएका थिए। तर, बीचमै उद्योग बन्द गरिएपछि उखुखेती गर्दै आएका किसानहरू अलमलमा परेका छन्। उक्त उद्योगमा किसानको किसानको ७ करोड बक्यौता बाँकी भएको बताइएको छ। बक्यौता रकम के हुन्छ भन्ने कुरा अनिश्चितजस्तै छ।