काठमाडौं– झन्डै एक वर्षपछि बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक अध्यक्षद्वयद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा केन्द्रित हुने नेताहरूले बताएका छन्।
केही सदस्यहरूले मङ्गलवारसम्म चल्ने भनिएको बैठकमा प्रतिवेदनबाहेकका विषयमा पनि कुरा उठाउने बताएका छन्। तर प्रधानमन्त्री केपी शर्मा ओलीको बैठकमा अनुपस्थित रहेकाले गत वर्ष जस्तो सरकारको आलोचना हुने गर्ने सम्भावना कम रहेको केही सदस्यहरूको भनाइ छ।
आइतवार काठमाण्डूमा सुरु बैठक मुख्य पाँचवटा मुद्दामा केन्द्रित हुने नेकपा स्थायी कमिटीका केही सदस्यहरूले बताएका छन्ः
१. कालापानी र नेपाल–भारत सम्बन्ध
स्थायी कमिटी बैठकमा कालापानीलाई लिएर नेपाल र भारतबीच उत्पन्न विवादबारे छलफल हुने नेताहरूले बताएका छन्।आइतवार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको नेकपाको सचिवालय बैठकले पनि उक्त विषयलाई स्थायी कमिटीको मुद्दा बनाउने तय गरेको थियो।
नेकपा स्थायी कमिटीकी सदस्य अष्टलक्ष्मी शाक्यले बीबीसीसँग भनिन्, “नेपाल–भारत सम्बन्ध र विवाद (कालापानी) बारे केही कुराहरू त अध्यक्षको प्रतिवेदनमा पनि स्पष्टरूपमा नै आएकाले गर्दा यसमा छलफल हुने निश्चित नै छ।’’ उनले प्रतिवेदनमा ’एउटा झलक मात्र आएको तर त्यसमा केन्द्रित भएर घनीभूत छलफल हुने’ बताइन्।
भारतले जम्मू–कश्मीरलाई केन्द्र शासित क्षेत्र बनाएपछि जारी गरेको नक्सामा नेपालको कालापानी क्षेत्रलाई पनि समेटेपछि नेपाल र भारतबीच पछिल्लो विवाद देखिएको हो। नेपालले उक्त भू–भाग आफ्नो क्षेत्रमा पर्ने भन्दै विज्ञप्ति जारी गरेर विरोध जनाएको थियो भने भारतले उक्त नक्सा पुरानै भएको अडान राखेको थियो।
नागरिकस्तरबाट उक्त विवाद समाधानमा सरकारले चासो नलिएको भन्ने आरोप लागिरहेका बेला नेताहरूले पनि बैठकमा यसलाई महत्त्वका साथ उठाउने तयारी गरेको बताएका छन्।
२. सङ्गठनात्मक संरचना
नेकपाको बैठक पार्टीको सङ्गठनात्मक संरचनाबारे पनि छलफल हुने नेताहरू बताउँछन्। तत्कालीन नेकपा माओवादी र एमालेबीच एकीकरण भएर बनेको नेकपामा अझै पनि धेरै सङ्गठनात्मक कुराहरू मिलाउन बाँकी रहेकाले बैठकमा त्यसबारे छलफल हुने बताइएको छ।
अध्यक्षको प्रतिवदेनमा पनि पार्टी एकता सृदृढ गर्नेबारे लेखिएकाले यस विषयमा गहन छलफल हुने स्थायी कमिटी सदस्य गणेश शाहले बताए। उनले भने, “बैठक पार्टीको आन्तरिक सङ्गठनात्मक संरचनामा बढी केन्द्रित हुनेछ।’’
यसपटक सरकारको कामको समीक्षा प्रतिवेदनमै पनि गरिएकाले सङ्गठनात्मक कुरामै बढी ध्यान जान्छ। उनले पार्टीको अधिवेशनका लागि पनि यो बैठक भएकाले विधानमा संशोधन र विभागहरूबारे चर्चा हुने बताए। सक्रिय सदस्यताको विषयमा पनि बैठकमा छलफल हुने उनले जानकारी दिए।
३. सङ्घ, प्रदेश र स्थानीय सरकारका कमजोरी
बैठकमा नेताहरूले सङ्घ, प्रदेश र स्थानीय सरकारका कमजोरीबारे पनि कुरा उठाउने बताएका छन्। उनीहरूका अनुसार केन्द्रमा दुई तिहाइको सरकार बने पनि जनअपेक्षा अनुरुप काम हुन नसकेको देखिएकाले यस विषयमा चर्चा हुनेछ।
प्रदेश सरकारहरूको भूमिकाबारे स्थायी कमिटीका सदस्यहरूले चासो राख्ने कतिपय नेताहरू बताउँछन्। त्यस्तै सङ्घ–प्रदेश विवाद र सुशासनको कमी जस्ता विषयमा पनि आफ्नो बोल्ने पालोमा कुरा राख्ने केही स्थायी कमिटी सदस्यहरूले बीबीसीलाई बताए।
उनीहरूका अनुसार लामो समयपछि बनेको बलियो सरकार भनिए पनि जनतामा भने नकारात्मक छवि बनेको र कतिपय राम्रा कामहरूको प्रचार हुन नसकेको बारे चर्चा हुनेछ।
४. उप–निर्वाचनको समीक्षा
नेताहरूले यो बैठकमा उपनिर्वाचनको परिणाम र त्यसको सङ्केतबारे पनि कुराकानीहरू उठ्ने बताए। अध्यक्षको प्रतिवेदनमा पनि पार्टी एकताका कतिपय कुराहरू बाँकी रहँदा जनपरिचालन हुन नसकेकाले उपचुनाव उत्साहप्रद हुन नसकेको उल्लेख छ।
अध्यक्षकै प्रतिवेदनमा समेत उपचुनावको समीक्षा आइसकेकाले स्थायी कमिटी सदस्यहरूले यसबारे बोल्ने धेरैको अपेक्षा रहेको छ। कतिपय नेताका बुझाइमा उप–निर्वाचनमा कम्युनिस्टको परम्परागत क्षेत्र भनिएकै स्थानमा पनि हार हुनुमा पार्टीकै कमजोरी देखिएकाले उनीहरूले त्यसबारे कुरा उठाउने तय गरेको बताएका छन्।
५. सभामुखबारे छलफल
पार्टी नेतृत्वले रिक्त रहेको सभामुख पदमा कसलाई उठाउने भन्ने बारे स्थायी कमिटीमा छलफल गर्न नचाहेको भए पनि कतिपय नेताहरूले भने त्यस विषयलाई उठाउने तयारी गरेका छन्। सभामुख कसलाई बनाउने भन्ने विषयलाई लिएर पार्टी्भित्र पूर्वएमाले र पूर्वमाओवादी धार देखिएको चर्चा चलिरहेको छ।
नेकपाका कतिपय नेताहरूले नै अनौपचारिक कुराकानीमा बताए अनुसार पूर्वमाओवादीले सभामुख आफूले पाउनुपर्ने दाबी प्रस्तुत गरिरहेको छ भने पूर्वएमालेले आफ्नो पोल्टामा पार्न खोजेको छ। गत साता बीबीसीसँग कुराकानी गर्दै नेकपा नेता हरिबोल गजुरेलले त्यसैतर्फ सङ्केत गर्दै भनेका थिए, “त्यो ढङ्गले छलफल हुने समय आउँछ।’’
पार्टी एकीकरण पूरा नभइसकेकाले अहिले पूर्वमाओवादी र पूर्वएमाले भन्ने त भइरहेकै छ। पार्टीका विभागहरूमा नियुक्त गर्दा पनि भइरहेकै त छ। स्थायी कमिटी सदस्य शाक्यले सभामुखबारे निर्णय हुन नसकेकाले स्थायी कमिटीमा पनि यसबारे छलफल हुने बताइन्।
उनले भनिन्, “सभामुखको कुराकानी आएको छैन तर उठ्छ।’’ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले चाहिँ आइतवारको बैठकमा सभामुखबारे छलफल नभएको बताए। उनका अनुसार स्थायी कमिटी बैठकमा सभामुखबारे छलफल हुने सम्भावना कम रहेको छ। बीबीसी