काठमाडौं– नेपाली गीत संगीतमा योगदान पुर्याउने विभिन्न कलाकाहरुलाई ‘नेपाल संगीत उद्योग संघ’ ले ६५ विधामा ३२५ जना कलाकारहरुलाई अवार्ड वितरण गरेको छ। नेपालमै पहिलो पटक आयोजना गरिएको उक्त अवार्ड कार्यक्रममा नेपाली आधुनिक, पप, लोक मात्र नभएर विभिन्न भाषा–भाषिका गीतहरुलाई अवार्ड वितरण गरिएको थियो।
सम्पूर्ण विधाबाट उत्कृष्ट ५ पाँचलाई नोमिनेशनमा राखेर ५ बाट एक जनालाई अवार्ड प्रदान गरिएको थियो। विभिन्न नेपाली गीतहरुमा आवाज दिने कलाकारहरु, नायक, नायिकाहरु, गीतकार, संगीतकारहरु, क्यामेरा म्यानहरु, निर्देशकहरु लगायत सबैलाई नयाँ र स्थापित कलाकाहरुलाई छुट्याएर अवार्ड वितरण गरिएको थियो। कार्यक्रम प्रस्तोता दिनेश डि.सी. रहेको कार्यक्रम दिउसो २ बजेदेखि सञ्चालन भएको थियो। नेपाली कला ,संगीतका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रमलाई दिनेश डि.सी.ले नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीको भवनलाई निकै रमाईलो बनाएका थिए। नेपाली गीत संगीत सँग सम्बन्धित विभिन्न व्यक्तिहरुको हातबाट पुरस्कार र अवार्डहरु वितरण गरिएको थियो।
जसमा सधैं लोकदोहोरी गीतबाट अवार्ड पाउँने मोडेल दुर्गेश थापाले यसपटक आधुनिक गीतबाट उत्कृष्ट नायकको अवार्ड हात पारेका थिए। त्यसैगरी नायिका करिष्मा ढकालले उत्कृष्ट लोकदोहोरी नायिकाको अवार्ड हात पारेकी थिईन्। भने गायिका सरिता कार्कीले ‘लाउँछ माया नलाउने होईननी’ गीतबाट उत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड हात पारेकी थिईन्। त्यसैगरी लोकदोहोरी नायकमा शंकर वि.सी.ले अवार्ड जितेका थिए। उत्कृष्ट लोकदोहोरी गायकको अवार्ड ‘सालको पात’ गीतबाट लोकगायक कुलेन्द्र विश्वकर्माले हात पारेका थिए, भने उत्कृष्ट लोकदोहोरी भाका सर्जकमा ‘लालमै’ गीतबाट शिव हमाले पाएका थिए। त्यसैगरी विभिन्न जात–जाति र भाषा–भाषिका गीतबाट विभिन्न कलाकारहरुले अवार्ड हात पारेका थिए।
भोजपुरी गीतका विभिन्न विधामा दिईएको अवार्डले भोजपुरी कलाकारहरुको खुसीयाली मन्तब्यले सभा हलको माहोल एकदमै तातेको थियो। नेपाली गीत संगीतको यो ऐतिहासिक एवार्डमा भोजपुरी भाषालाई समेटेर सम्मान गर्नु यो उनीहरुका लागि पहिलो पटक रहेको पनि उनीहरुले व्यक्त गरेका थिए। उक्त कार्यक्रममा नेपाली कला संगीतलाई आफ्नो जीवनकालमा पुर्याएको योगदानको लागि दिईने ‘लाईभ टाईम एचिभमेन्ट’ पुरस्कार ‘मह’ जोडीलाई रु ५५,००० नगद प्रदान गरिएको थियो। कार्यक्रम राती अबेरसम्म भएको थियो।