खोटाङ– जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित ऐसेलुखर्क गाउँपालिकाले ‘बहानेपोखरी महोत्सव’ गर्ने भएको छ। वडा–१ राखाबाङ्देलमा रहेको पर्यटकीयस्थल बहाने पोखरीको प्रचार–प्रसार गर्दै पर्यटन प्रवद्र्धन गर्न आगामी फागुन १३, १४ र १५ गते महोत्सव गर्ने तयारी गरेको हो।
महोत्सव सफल बनाउन स्थानीय गृहबहादुर राईको संयोजकत्वमा २१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। तीन दिनसम्म सञ्चालन हुने महोत्सव सफल बनाउन छिमेकी स्थानीय तहका वडाबाट थप सदस्य थपिने जनाइएको छ।
प्रायोजक तथा छिमेकी स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गरिने महोस्तवका लागि सो गाउँपालिकाले रु १२ लाख बजेट विनियोजन गरेको छ। महोत्सवमा अग्र्या्निक कृषि उपज प्रदर्शनी, खानाका परिकार, विभिन्न जातजातिको सांस्कृतिक तथा परम्परागत झाँकी, साङ्गीतिक कार्यक्रम, खेलकूदलगायत विविध कार्यक्रम सञ्चालन हुने आयोजक समितिका संयोजक राईले जानकारी दिएका छन्।
चारैतिर रमणीय डाँडाको बीचमा मुहान नदेखिने बहानेपोखरीमा बाह्रै महिना टम्म पानी रहने गरेको स्थानीयवासीले बताएका छन्। अग्लोडाँडामा शुद्ध पानी टम्म भरिएको बहानेपोखरी २०० मिटर क्षेत्रफल जमिनमा फैलिएको छ। आफैँमा ऐतिहासिक महत्व बोकेको बहानेपोखरीमा महोत्सव गर्दा सबैको ध्यान केन्द्रित गर्न र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न प्रथम पटक ‘बहानेपोखरी महोत्सव’ गर्न लागिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए।
‘बहानेपोखरीको पूर्वतर्फ शङ्ख, ढुङ्गा, नागढुङ्गा, स्तुपाहरु र केहीमाथि विभिन्न आकृतिका संरचना अवलोकन गर्न सकिन्छ’। उनले भने, ‘पोखरी आसपासमा पाइने लोपोन्मुख रेडपाण्डा, चौँरी, भेडा र विभिन्न प्रजातिका जीवजन्तु अवलोकन गराउँदै आगामी दिनमा थप पर्यटक तान्ने महोत्सवको मूल उद्देश्य रहेको छ।’
बहानेपोखरीबाट खोटाङको अधिकांश स्थान, तराईका फाँट, विश्वकै सर्वोच्च शिखर सगरमाथा तथा हिमाली शृङ्खला अवलोकन गर्न सकिन्छ। भदौरे जनैपूर्णिमा र मङ्सिरे पूर्णिमाको दिन धामी–झाँक्रीसहित विभिन्न जिल्लाबाट आउने दर्शनार्थीको उपस्थितिमा यहाँ ठूलो मेला लाग्ने गर्दछ।
समुद्री सतहदेखि करीब दुई हजार ७०० मिटर उचाइमा अवस्थित बहानेपोखरीमा नयाँ वर्षमा ठूलो संख्यामा युवापुस्ता वनभोज (पिकनिक) जाने गरेका छन्। पोखरी आसपास शेर्पा समुदायको घनाबस्ती रहेको छ।
आगामी दिनमा उक्त शेर्पाबस्तीलाई घरवास (होमस्टे)का रूपमा विकास गर्ने योजनासमेत रहेको गाउँपालिका प्रमुख निरौलाले बताएका छन्। अग्र्यानिक कृषि उपज पर्याप्त उत्पादन हुने उक्त क्षेत्र घरवासका लागि उपयुक्त ठाउँ रहेको जनाइएको छ। रासस