भिमदत्तनगर– विश्वमै दुर्लभ बाह्रसिङ्गाको झुण्ड देख्न सकिने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले यहाँ चराका प्रजातिको सङ्ख्या वृद्धि भएको जानकारी दिए। उनले भने ‘सन् २०१९ को हिउँद याममा चरा गणना सम्पन्न भएको थियो। प्रजातिको सङ्ख्या ४५० पुगेको छ।’ सन् २०१२को गणनामा ४२४ प्रजातिका चरा रहेको थियो। नेपालमा पाइने चराको प्रजाति मध्ये करिब ५० प्रतिशत यहाँ पाइने बताइन्छ।
सन् २०१३ देखि चराको प्रजातिको गणना हुँदै आएकोे छ। नेपालमा ८८७ प्रजातिका चरा रहेका वताइन्छ। विश्वमै दुर्लभ मानिने चराको प्रजाति यहाँ रहेका छन्। भुँडीफोर गरुड, राजधनेश, सुनैलो तोपचरा, खरमजुर, सानो खरमजुर, सुन गिद्ध, बगाले बगेडी, सिमतित्रा र सारसलगायतका २३ प्रजातिका विश्वमा दुर्लभ मानिएका चरा शुक्लाफाँटामा रहेका निकुञ्जले जनाएको छ।
तीन सय पाँच वर्ग्किलोमिटर क्षेत्रफलमा रहेको शुक्लाफाँटामा नेपालकै ठूलो घाँसे मैदान, १६ वटा पाटे बाघ, १७ वटा गैँडालगायत वन्यजन्तु यहाँका आकर्षण हुन्। (रासस)