मकवानपुर— दुबई, साउदी अरब लगायतका मरुभूमि युक्त मुलुकमा चलाइने लोकप्रिय ‘क्वाड’ बाइक अब नेपालमै चढ्न पाइने भएको छ। चित्लाङ रिसोर्टको भगिनी कम्पनी एड्भेन्चर गियर प्रालिले ५ ओटा ‘क्वाड’ बाइक सञ्चालनमा ल्याएको हो।
चित्लाङ आउने पर्यटकहरूलाई केही नयाँपन दिने उद्देश्यले झण्डै ७५ लाख खर्चिएर ५ ओटा ‘क्वाड’ बाइक ल्याइएका रिसोर्ट सञ्चालक देवेन्द्र नेपालले जानकारी दिए।
एड्भेन्चर गियरले ‘क्वाड’ बाइकको लागि रिसोर्ट पछाडि छुट्टै ३ किलोमिटरको रुट बनाएको छ। सामान्य मोटरसाइकल चलाउन सक्नेलाई यो बाइक चलाउन खासै गाह्रो नहुने पनि उनले बताए।
दुई जनासम्म चढ्न मिल्ने उक्त बाइक चलाउन चाहनेले एक जना मात्रै चढेमा रु.३ हजार र दुई जना चढेमा रु.४ हजार शुल्क तिर्नुपर्ने हुन्छ।
चित्लाङ आउने पर्यटकलाई एड्भेन्चरस अनुभब गराउने सञ्चालक नेपालको दाबी छ। यसका लागि मिनी बन्जी, जीपलाइन लगायतको थुप्रै कुराहरुको निर्माणका लागि पनि तयारी गरिरहेका उनले बताए।