लमजुङ– मस्र्याङ्दी नदीमा पानीको बहाव घट्दैजाँदा मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाबाट २५ मेगावाट विद्युत् उत्पादन घटेको छ। बेँसीशहर नगरपालिका–१ दलालमा रहेको जिल्लाको पहिलो ७० मेगावाट क्षमताको सो आयोजनाको उत्पादन ४५ मेगावाटमा झरेको छ।
आयोजनामा ३्३५ मेगावाट क्षमताको दुई वटा टर्वाइन रहेका छन्। आयोजनाका प्रमुख शिवकुमार शाहले भने, पानी कम भएकाले मङ्सिरको पहिलो साताबाट विद्युत् उत्पादन घट्न थालेको र अझै विद्युत् उत्पादन घट्ने क्रममै रहेको छ।’ सन् २००८ मा रु २७ अर्ब २० करोड लागतमा निर्माण कार्य सम्पन्न भएको थियो।
यसैगरीे ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत घट्न थालेको आयोजनाले जनाएको छ। मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा आयोजनास्थल रहेको सो आयोजना करिव १६ अर्ब रुपैयाँमा निर्माण सम्पन्न भएको थियो।
त्यस्तै पाँच मेगावाटको सिउरी, ४.४ मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु र २ मेगावाटको छ्याङ्दी आयोजनाबाट समेत बिजुली उत्पादन कम हुने क्रममा रहेको बताइएको छ। मध्यमस्र्याङ्दी, माथिल्लो मस्र्याङ्दी ‘ए’ र यी आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। (रासस)