पर्सा – जिल्लाको सुदुरपश्चिमको सुवर्णपुर गाउँ तोरी खेतीको हब बन्दै गएको छ। ठोरी गाउँपालिका वडा नम्बर ५ मा रहेको सुवर्णपुरका अधिकांश किसानले तोरीखेति गर्न थालेपछि अहिले सुवर्णपुर गाउँ तोरी खेतीको हव बन्न थालेको हो। यतिवेला तोरी फुलेर सुवर्णपुर सिंगो गाउँ पूरै पहेंलपुर भएको छ।
सिंचाई नचाहिने र वन्यजन्तुले पनि हानी नगर्ने भएकाले यहाँका किसान तोरी खेतीलाई बैकल्पिक बालीको रुपमा गर्न थालेका छन्। एक पटक छरेपछि गोडमेल र सिंचाई पनि गर्नु नपर्ने भएकोले आफूहरुलाई तोरी खेती सहज र दरिलो नगदे बाली साबित भएको ५६ वर्षिय स्थानीय किसान तेजबहादुर बम्जनले बताए।
यो बर्ष उनले एक विघा खेतमा तोरी खेती गरेको बताए। एक त हिउँदमा गहुँ बाली लगाउन हामीसंग सिचाईको व्यवस्था छैन। त्यसमाथि पर्सा निकुञ्जबाट गाऊँ पस्ने घोडगदा, हात्ती, बदेल, चित्तलजस्ता जनावरले बालीनाली नष्ट पारेर हैरान बनाएपछि हामीले गहुँ बालीको बिकल्पको रुपमा तोरी बाली लगाउन थालेको उनले बताए।
अहिले गाउँभरी नै यसको खेती हुन थालेको छ। यसबर्ष गाँउको करीब १० सय बिघा खेतमा स्थानीयले तोरीबालीको खेती गरेको अर्का किसान कन्या मायाँ लोपचनले बताइन्। त्यस बाहेक केही किसानले सूर्ती बाली लगाएको छ तर आफूले १० कठ्ठा खेतमा तोरी बाली लगाएको बताए।
लोप्चनका अनुसार तोरी बालीलाई सिंचाई नचाहिने, र स्वाद नमिठो हुने भएकाले बन्यजन्तुले पनि हतपत्ति नोक्सान नगर्ने गरेकाले उनको तर्क छ। किसानका लागि भने त्यसैले पनि यो खेती आकर्षण भएको उनले बताइन्।
छिमेकी निर्मलबस्तीका किसानले पनि केही बर्ष यता तोरी खेतीमा जोड दिन थालेका छन्। यस भेगमा पछिल्लो केही बर्ष यता भूमिगत जलस्रोत सुक्दै गएकाले स्यालो ट्युववेल बोरिङ्गबाट पानी आउन छोडेको छ। सिंचाईको अन्य विकल्प पनि नरहेकाले आकाशे बर्षाको भरमा धान, तोरी र मकै बाहेक अन्य अन्न बाली उब्जाउन यहाँका किसानहरुले पाऊँदैनन्।
पर्याप्त मनसुनी बर्षा नभएको बर्ष किसानलाई धान र मकै बाली उब्जाउन समेत गा¥हो हुन्छ। यसरी आकाशे खेती गर्दा भदैया धान बाहेक अन्य धान पनि उब्जदैनन्। कतिपय किसानको खेत बाझै बस्न थालेको छ। यस भेगमा पानीको सतह अत्यन्त तल पुगीसकेको छ।
रुख बिरुवा तथा जंगल नजिक भए पनि बालौटे र चट्टानी भुबनोटका कारण पानीको सतह अत्यन्त मुनि छ। त्यति मुनिबाट बोरिङ गरेर पानी तान्न किसानको आर्थिक क्षमताले भ्याउदैन। जिल्ला कृषि विकास कार्यालय र नारायणी सिचाई डिभिजन कार्यालयको समेत यसतर्फ ध्यान पुग्न नसकेको किसानको दावी छ।
पछिल्लो केही बर्ष यता तोरी खेती उत्साहजनक रुपमा बढेको कृषि ज्ञान केन्द्र कार्यालयले पनि जनाएको छ। सिचाईको समस्या र वन्यजन्तुले बालीनाली नष्ट गर्ने गरेकाले तोरी खेतीबाट नगदे बाली सरह आम्दानी दिने भएकाले किसानहरु यो खेती तर्फ आकर्षित भएको केन्द्रको भनाई छ।