एजेन्सी– जम्मु–कश्मीरको अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक मंगलबार बस्दैछ।
चीनको आग्रहपछि सुरक्षा परिषद्को बैठक बस्न लागेको कुटनीतिहरुले जनाएका छन्। यसअघि अगस्टमा सोही विषयमा सुरक्षा परिषद्को बैठक बसेको थियो। मुस्लिम बाहुल्य कश्मीर क्षेत्रमा अगस्ट ५ देखि भारत सरकारले इन्टरनेट तथा सञ्चारका सेवा अवरुद्ध पारेको छ।
संविधानको धारा ३७० हटाउँदै भारत सरकारले कश्मीरको विशेष अधिकार खारेज गरेपछि यहाँका थुप्रै नेताहरु बन्दी बनाइएका छन्। साथै सेनाले कश्मीरलाई उच्च निगरानीमा राखेको छ।
सुरक्षा परिषद्लाई डिसेम्बर १२ मा पठाइएको पत्रमा पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीले कश्मीरमा तनाब बढ्नसक्ने सम्भावित अवस्थाबारे चासो देखाएका छन्।
‘अवस्थाको गाम्भिर्यता र आगामी दिनमा बढ्नसक्ने जोखिमलाई मध्यनजर गर्दै पाकिस्तानको प्रस्तावलाई चीन प्रतिनिधित्व गर्न चाहन्छ। र जम्मु कश्मीरको अवस्थाबारे काउन्सिलको व्याख्याको लागि आग्रह गर्छ,’ चिनियाँ यूएन मिसनले परिषद्का सदस्यहरु समक्ष आग्रह गरेको छ।
कुटनीतिज्ञहरुका अनुसार परिषद्को बैठक यही मंगलबार बस्ने कार्यतालिका छ। ‘खासमा यो बैठक के हो, हामीलाई थाहा छैन, बैठक नभएसम्म हामीले पर्खनुपर्नेछ,’ भारतीय पूर्वकुटनीतिज्ञ तथा रणनीतिक मामला विज्ञ केसी सिंहले भनेका छन् ।
जम्मु–कश्मीरको मुद्दाबारे पछिल्लो समय भारत र पाकिस्तानबीच सम्बन्ध थप चिसिँदै गएको छ। कश्मीरको मुद्दालाई अन्तर्रा्ष्ट्रिय समुदायले सम्बोधन गर्नुपर्ने भन्दै पाकिस्तानले बारम्बार अभिव्यक्ति दिँदैआएको छ।