झापा– झापाको बाह्रदशी गाउँपालिका–१ स्थित भागुडुब्बामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएको छ। रू एक करोड ६१ लाख ७९ हजारको लागतमा भवन निर्माण भएसँगै पोस्ट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल २ नं गण हेडक्वार्टर झापाका प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले जानकारी दिए।
उक्त पोस्टमा प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टुकडी रहनेछ। भारतीय सीमा क्षेत्रमा हुने सीमा अतिक्रमण, अवैध निकासी–पैठारी, लागुऔषध ओसारपसार, आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले भारतको दिगलबैंकसँगको सिमामा बीओपी स्थापना गरिएको हो। बिओपी स्थापना गरिएको स्थानबाट करीब पाँच किलोमिटरको दुरीमा भारतसँगको सीमा रहेको छ।
स्थानीय सुशीलादेवी राजवंशीले उपलब्ध गराएको पाँच कठ्ठा जग्गामा बिओपी भवन निर्माण गरिएको हो। डेढ दशकअघि भारतीय डाकाबाट डकैतीको शिकार भएकाले त्यस्तो पीडा कसैलाई नहोस् भनेर पोस्ट स्थापनाका लागि जग्गा उपलब्ध गराएको राजवंशीले बताएका छन्।
बाह्रदशी गाउँपालिका–१ मा पर्ने भागुब्बा क्षेत्रका बासिन्दा वर्षौंदेखि डकैती र चौपाया चोरीका घटनाबाट पीडित हुँदै आएका छन्। पोस्ट स्थापना भएपछि उक्त पीडाबाट राहत पाउने स्थानीयवासीको आशा छ। प्रदेश नं १ को झापा, मोरङ र सुनसरीका सीमावर्ती ३७ स्थानमा बिओपीका भवन निर्माणको प्रक्रियामा छ भने झापामा ८ बिओपी भवन निर्माण हुने जनाइएको छ। (रासस)