एजेन्सी– फुटबल क्लब बार्सिलोना र रियल मड्रिडबीचको बहुप्रतिक्षित इएल क्लासिको भिडन्त बुधबार राति हुँदैछ। स्पेनका दुई ठूला क्लबबीचको उक्त भिडन्त विश्वका सर्वाधिक मानिसहरुले हेर्ने खेल हो। खेल बुधबार राति अर्थात बिहिबार बिहान १२ः४५ बजे शुरु हुनेछ।
सिजनको पहिलो इएल क्लासिको भिडन्तमा दुबै टोलीले एक अर्कालाई कडा टक्कर दिने अनुमान गरिएको छ। बुधबार रातिको खेलमा बार्सिलोना रियलविरुद्ध पुरानै इतिहास दोहो¥याउने सोचमा हुनेछ भने रियल अघिल्लो सिजन बेहोरेको हारको बदला लिने दाउमा छ।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुने खेलमा रियल बार्सिलोनालाई स्तब्ध पार्दै अघिल्लो सिजनका हारमा मलम लगाउने प्रयासमा हुनेछ भने बार्सिलोना आफ्नो घरमा रियलविरुद्ध ऐतिहासिक जितको खोजिमा हुनेछ। बार्सिलोना र रियल अहिलेसम्म सबैखाले प्रतियोगितामा २ सय ७५ पटक एकअर्काविरुद्ध मैदान उत्रिएका छन्। जसमध्ये बार्सिलोनाले १ सय १५ खेलमा जित निकालेको छ भने रियलले ९९ पटक जित हात पारेको छ। उनीहरुबीचको ६१ खेल भने बराबरीमा सकिएको छ।
गत वर्षको मार्चमा भएको खेलमा रियलले बार्सिलोनासँग आफ्नै मैदानमा १–० को पीडादायी हार बेहोरेको थियो। त्यसअघि क्याम्प नोउमा भएको खेलमा पनि रियलले बार्सिलोनासँग ५–१ को लज्जास्पद हार बेहोरेको थियो।
ला लिगामा समान अंकको साथ बार्सिलोना पहिलो र रियल दोस्रो स्थानमा छन्। त्यसकारण आजको खेल दुबै टोलीको लागि प्रतिष्ठाको लडाँइसँगै शीर्षस्थानमा उक्लने अवसर पनि हो। आजकाे खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएकाे छ।