काठमाडौं– सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले जित निकालेको छ। विभागीय टिम एपीएफ क्लबलाई २–० गोलले हराउँदै मनाङले लिगमा विजयी शुरुवात गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुत्रबार भएको खेलमा मनाङलाई जित दिलाउन दुबै गोल विमल रानाले गरेका छन्। खेलमा राम्रो आक्रामक शुरुवात गरेको मनाङले खेलको २८ औं मिनेटमा अग्रता बनाएको थियो। उसको लागि जगजित श्रेष्ठको पासमा विमल रानाल हेड गोल गरेका थिए।
त्यस्तै खेलको ३४ औं मिनेटमा विमलले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङको अग्रता दोब्बर बनाएका थिए। पहिलो हाफमा २–० ले अगाडि बढेको खेलमा मनाङले दोस्रो हाफमा थप गोल गर्न सकेन भने एपीएफले पनि गोल फर्काउन सकेन। जितसँगै मनाङले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ। एपीएफले भने खराब सुरुवात गरेको छ।