पोखरा– दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा विराटनगर टाइटन्सले साविक विजेता पोखरा पल्टनलाई पराजित गरेको छ। बुधबार भएको खेलमा पोखरालाई ४५ रनले पराजित गर्दै विराटनगरले पहिलो जित निकालेको छ।
पोखरा रंगशालामा विराटनगरले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको पोखरा १९.५ओभरमा १०० रनमा अलआउट भयो। पोखराका रोहित कुमार पौडेलले सर्वाधिक ३२ रनको योगदान दिए। यस्तै कुशल भुर्तेलले २४, आसिफ शेखले १३ रन बनाउन बनाए। विराटनगरको बलिङमा किशोर महतोले ३ विकेट हात लिए भने जयद आलम र जितेन्द्र मुखियाले समान दुई–दुई विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो। उसका लागि पुनित मेहेराले अविजित रहदै ६१ रन बनाए। उनले २६ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै सुनिल धमलाले ३६ रन जोड्दा मोहमद जायद आलमले २६ रन बनाए।
पोखराको बलिङमा कप्तान शरद भेषवाकरले २ विकेट लिए। जितसंगै विराटनगरले २ खेलमा २ अंक जोडेको छ। यसअघि विराटनगर पहिलो खेलमा धनगढी ब्लुजसँग पराजित भएको थियो।