काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले मिलेर अघि बढ्ने सहमति गरेका छन्। उनीहरुबीच चुनावमा तालमेल गर्ने सहमति भएको हो।
बुधबार बालुवाटारमा बसेको दुई दलका शीर्ष नेताहरुबीच भएको वार्तामा राष्ट्रियसभाको प्रदेश २ अन्तर्गतका सिटको बाँडफाँट भएको छ। राष्ट्रियसभामा प्रदेश २ का ८ मध्ये चार सिट २० फागुनबाट खाली हुँदैछ। उक्त पदमा ९ माघमा निर्वाचन हुनेछ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार खाली हुने चारमध्ये दुुई दुई सिट लिने सहमति भएको छ।। सहमतिअनुसार राजपाले अन्य पुरुष र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको सिट लिनेछ भने नेकपाले महिला र दलित पुरुष लिनेछ। यो सहमतिसँगै दुबैको जित पक्काजस्तै बनेको छ।
यसले नेकपालाई एक सिट लाभ हुनेछ। किनकी अहिले खाली हुन लागेको चारमध्ये एक सिट मात्र उसको थियो। दुई राजपा र एक सिटमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए। राजपाले दुई सिट जोगाउँदा कांग्रेसले गुमाएको छ।
