मकवानपुर– मकवानपुर प्रहरीले अपहरण कार्यमा संलग्न ५ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई रामेछापका एक युवालाई अपहरण गरी बन्धक बनाएको आरोपमा नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा काठमाडौंको पुरानो बानेश्वर बस्ने २४ वर्षीय आशिष सिजापती, कंचनपुरको श्रीपुर ६ बस्ने २९ वर्षीया सुनिता धामी, धादिङ नेत्रावती घर भएका कृष्ण गुरुङ र ट्याक्सी चालक आशिक लामा रहेका छन्।
प्रहरीका अनुसार उनीहरुले रामेछापका २१ वर्षीय नरेश थापा मगरलाई अपहरण गरी बा २ च ५३५६ नम्बरको ट्याक्सीमा राखेर हेटौंडा उपमहानगरपालिका ९ लामसुरेकी सरस्वती तामाङको घरमा बन्धक बनाएका थिए।
मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिँहका अनुसार अम्लेखगंजबाट काठमाडौं जान लागेको बा २ ज ५९५ नम्बरको ट्याक्सीमा यात्रारत मगरलाई बा २ ज ५३५६ नम्बरको ट्याक्सीमा आएका समूहले उनलाई कुटपटि गरी नियन्त्रणमा लिएका थिए।
मगरसँगै आएका काभ्रे मण्डनपुरका २८ वर्षीय सरोज सापकोटालाई समेत उनीहरुले कुटपिट गरेका थिए। बन्धक बनाइएका युवकको उद्धार गरिएको छ भने पक्राउ गरिएका पाँचै जनामाथि थप अनुसनधान भइरहेको छ।