काठमाडौं - एकीकृत ढंगले उत्पादन श्रेत्रमा लगानी गरी समाजवादी सारथी बन्न सहकारी क्षेत्रलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा कुमारी अर्यालले आग्रह गरेकी छन्।
राष्ट्रिय सहकारी बैंकको आयोजनामा भईरहेको ‘कोअपरेटिभ लिडर्स नेशनल फोरम २०७६’ कार्यक्रममा बोल्दै देशको समृद्धिका लागि मुलुकभर छरिएर रहेका सहकारीहरुले एकीकृत र व्यवसायिक ढंगले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा उनले जोड दिएकी हुन्।
मन्त्री अर्यालले भनिन्,‘पूँजीको निर्माणबिना समाजवाद आउँदैन, त्यसैले सहकारीले पुजी निर्माण गर्नुपर्छ र उत्पादनमा लगाउनुपर्छ, अनि मात्र समाजवादको रेखा कोरिन्छ र सहकारीकर्मीले समाजवादको अभियान्ता भन्न पाउनुहुन्छ।’
मन्त्री अर्यालले आर्थिक समृद्धिलाई प्राथमिकताका राखेर सहकारीहरुले काम गर्नुपर्ने बताइन्। सरकारले सबै सहकारीहरुलाई उत्पादनमूलक क्षेत्रमा लगाउनेगरी आवश्यक कानूनको तर्जुमा गरिरहेको बताउँदै उनले दीगो लक्ष्य हासिल गर्नका लागि बढी भन्दा बढी लगानी र व्यक्ति सहभागी भएर उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताइन्।
अबको दिशा समृद्धि र विकासकै दिशा भएको बताउँदै उनले सहकारी संस्थाहरु एकीकृत उत्पादनमा लाग्नुपर्ने उनको जोड छ।