भक्तपुर– पारस्परिक जवाफदेहिता कार्यक्रमअन्तर्गत इक्वेल एक्सेस नेपालले आयोजना गरेको दुई दिने पुनर्ताजगी पत्रकारिता तालीम बुधबारदेखि यहाँ शुरु भएको छ। इक्वेल एक्सेस नेपालले विगत वर्षहरूमा आयोजना गरेको खोजमूलक पत्रकारिता तालीम र पैरवी अनुगमन तथा निगरानी तालीमपछि देशभर क्रियाशील रहेका ३४ जिल्लाका पत्रकार तालीममा सहभागी छन्।
तालीमपछि उठान गरिएका विषय तथा प्रकाशन भएका समाचारले स्थानीय विकास खासगरी शिक्षा, स्वास्थ्य, कृषि, विपद् तथा लैङ्गिक समता र समावेशीकरणका लागि वकालत गर्न मद्दत पुगेको इक्वेल एक्सेस नेपालका वरिष्ठ सञ्चार अधिकृत कमला पोखरेलले जानकारी दिएका छन्।
यसपटक विगत वर्षहरूमा उपलब्ध गराएको तालीमको उपलब्धता, त्यस तालीमप्रति सहभागी पत्रकारको धारणा र सिकाइको समीक्षा तथा भावी योजनाका बारेमा छलफल गर्ने उद्देश्य रहेको उनले सुनाएका छन्। भेलामा स्थानीय तहको विकास र जनचासोको सवालमा खोज पत्रकारिता र पैरवी पत्रकारिताको महत्व एवं पत्रकारको भूमिकाका विषयमा बुधबार एफएचआई ३६० का विज्ञ सल्लाहकार भोला भट्टराईको प्रस्तुति थियो।
प्रस्तुतिका क्रममा उनले सार्वजनिक सरोकारका विषयमा नीतिगत तवरले समाचारका विषय उठाउनुपर्नेमा जोड दिएका छन्। आज पत्रकार हरिबहादुर थापा र किरण नेपालले स्थानीय तहको विकास र जनचासोको सवालमा खोज पत्रकारिता र पैरवी पत्रकारिताको महत्व तथा पत्रकारको भूमिकाका विषयमा अनुभवसहितको प्रस्तुति गर्नुहुने जनाइएको छ। इक्वेल एक्सेसले भूकम्प अतिप्रभावित १४ जिल्लामा महत्वका साथ साझा सवाल लगायत पारस्परिक जवाफदेहिताका विषय उठानमा काम गरिरहेको सो अवसरमा जानकारी दिइएको थियो। (रासस)