एजेन्सी– स्पेनका दुई महारथी क्याटलान बार्सिलोना र रियल मड्रिडबीचको महाभिडन्त सिजनको पहिलो ‘एल क्लासिको’ गोलविहिन भएको छ। बुधबार राति भएको खेलमा बार्सिलोना र रियलले गोलरहित बराबरी खेलेसँगै सन् २००२ पछि पहिलो पटक ‘इएल क्लासिको’ गोलविहिन भएको हो।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा दुबै टोलीले केहि उत्कृष्ट आक्रमणहरु बुनेतापनि गोल गर्न सकेनन्। बार्सिलोनाका गोलरक्षक मार्क आन्द्र टेर स्टेगनले केहि उत्कृष्ट बचाउहरु गरे। प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलमा १७ औं मिनेटमा रियलले खेलमा अग्रता लिने सुन्दर मौका पाएपनि जेरार्ड पिकेले गोल लाइनबाट बचाएदिए। लगत्तै क्यासमिरोकै प्रहार पिकेले ब्लक गरिदिए।
त्यस्तै ३१ औं मिनेटमा कप्तान लियोनेल मेस्सीको प्रहार रियलका कप्तान सर्जियो रामोसले ब्लक गरिदिए। दोस्रो हाफको ७२औं मिनेटमा ग्यारेथ बेलले गोल गरेपनि भिएआरको मान्यता पाएन। त्यसपछि पनि खेलमा गोल सम्भव नहुँदा बराबरीमा सकियो। बराबरीसँगै बार्सिलोना १७ खेलबाट ३६ अंक जोडेर शीर्षस्थानमा रहँदा समान खेलबाटै समान ३६ अंकसहित रियल दोस्रो स्थानमा छ।