शारदा शर्मा
मेरो अस्तित्व
सृष्टिको अन्तिम होइन
म नभए
अर्को हुन्छ।
जीवनको
साङ्गीतिक लयका सादृश्यमा ध्वनित
नि:सन्देह
मेरा यात्राको सिमाना छ जगतमा
तर मेरा पदचापको नि:शब्दता
लयको समाप्ति होइन
म अडे,
अर्को हिँड्छ।
भाँच्चिँदै, ब्युँझँदै गर्छन् छालहरू सधैँ
जीवन लहर हो
साङ्लै साङ्लामा गाँसिएर बग्छ
सपनाका साङ्लाहरू
भ्रमका साङ्लाहरू
उत्सव, उपलक्ष्यका साङ्लाहरू
एउटा लहर बिलाउँदैमा
शून्य हुँदैन समुद्र
रित्तो हुँदैन
साङ्लाहरूको नि:द्वन्द्व गतिप्रवाहमा
मृत्युसँग सापेक्षित बगिरहन्छ जीवन निरन्तर
रहस्यका पर्दामा भरिपूर्ण फुलिरहन्छ
सृष्टिको सबैभन्दा सुन्दर फूल
अजम्बरी छैन
मेरो अस्मिता
मेरो जीवन संसारमा
निर्विकल्प हैन
म झरे,
अर्को फुल्छ!