नेपाली रङ्गमञ्च र कवितामा तीसको दशकमा प्रवेश गरेर पचासको दशकमा कलाका अत्याधुनिक विधादेखि साहित्य सिर्जनाका विविध विधामा सक्रिय व्यक्तित्व प्रकाश सायमीको नवीनतम कृति काठमान्डू मोन्ताज् भर्खर प्रकाशित भएको छ। उनका चिन्तनप्रधान र संस्मरणकेन्द्री निबन्धहरूको सँगालो बर्सादी दिनहरू र काठमान्डू सेल्फीले पाठकहरूका मन जितेपछि उस्तै शैलीमा अझ गहन विचार र विषय लिएर उनी काठमान्डू मोन्ताज्मा उभिएका छन्। सायमीका निबन्धमा आउने शिल्प र विषयको प्रस्तुतिगत सौन्दर्य यस कृतिमा पनि मिहिन मिश्रनका साथ प्रकट भएको छ। अध्येता र अनुभवी व्यक्तित्वका प्रतिविम्बहरू नै काठमान्डू मोन्ताज्मा विषयहरू हुन्।
सायमीले छब्बीसवटा निबन्धको यस सङ्कलनलाई सृजनात्मक गद्य भनेका छन्। विषय र भावको प्रस्तुतिमा विचारको खस्रोभन्दा सुललित भाषा बुन्नसक्ने खुबी भएका लेखकका जीवन र परिवेश दर्शन यस गद्यकृतिका अभिव्यक्तिगत विशिष्टता हुन्। सङ्ग्रहमा प्रकृति र जीवन दुवै पक्षका व्यापक परिवेशको मोन्ताज् परिदृश्यित छ। जिरेनियम तिम्रो नाम के हो? शीर्षकको पहिलो निबन्धले नेपालीमा प्रचलित कैयन् आगन्तुक शब्दबारे मौन रहेको नेपाली शब्दकोशलाई मिठो गरी चुनौती दिएको छ। सायमी सरल गरी गम्भीर समस्याको धरातलमा पाठकलाई झस्काउन माहिर छन्।
उनले जेरिनियमको उपमा दिएर कैयन् अविदित अर्थहरूतिर पाठक र भाषाशास्त्रीहरूको ध्यानाकर्षण गराएका छन्। उनी शब्दका अनुयायी हुन् भन्ने तथ्य उनका प्रायजसो निबन्धले नयाँ शब्दमाथि गरेको निस्वार्थ विवर्शबाट थाह लाग्छ। अर्को निबन्ध राहतमा पनि उनको यो तलासी कायम छ। बहुदलीय व्यवस्थासँगै भित्रिएको राहत शब्दले नेपाली संस्कृतिलाई त्यस उप्रान्त सर्लक्कै निलेको यथार्थमाथि यस निबन्धले बहस चलाएको छ। उनले लेखेका छन्, ‘नेतासँग डराउनुपर्ने समाजमा जनता कहिल्यै सुरक्षित हुँदैनन्।’ राहत लिएर भित्रिएको बहुदलीय प्रजातन्त्रका आजसम्मका अनेक स्वरूपमा २०४५ सालदेखि यताका सबै खाले भूकम्पहरूको मार्मिक कथा प्रस्तुत छ।
यस सङ्ग्रहका निबन्धहरूको मुख्य विशेषता भन्नु बिर्सिएको इतिहास र पात्रलाई तिनका योगदानका आधारमा उज्यालोमा ल्याउने प्रयास नै हो। त्यसका लागि लेखकले आफ्ना गतिशील विचारको माध्यमबाट छायामा घाम दिने प्रयास गरेका छन्।
फ्रान्सको मौनता शीर्षकको निबन्धमा चलचित्रको उद्भव र इतिहासको प्रसङ्ग दिएर कलाका सबैजसो विधाको अन्तिम निचोड मानिने चलचित्रमाथि फ्रान्सको योगदानको विहङ्गम दृष्टि प्रस्तुत गरिएको छ र त्यसपछिको विश्वको सम्वेदनहीनतातर्फ औँल्याइएको छ। शब्दको बिजबाट रुख बनाउने सायमीको निबन्धकलामा त्रिआयामिक सौन्दर्य एकैसाथ उपस्थित भएको छ –ज्ञान, सूचना र संवेदना।
देशको कला संस्कृतिको चेतना विस्तारमा विश्व परिवेशका महत्त्वपूर्ण सिलसिलाहरू जोडेर प्रस्तुत गरिएका विषय र सन्दर्भहरू काठमान्डू मोन्ताज्मा बाचाल दृश्यहरू हुन्। सिनेमा, सङ्गीत र साहित्यका गर्भज्ञानबाट विस्तारित ऐतिहासिक चिन्तन र त्यस चिन्तनका जगमा नेपाली ललितकलाको विगत र वर्तमानलाई चित्राङ्कन गरेपछि बल्ल लेखकले भविष्यप्रति प्रश्न उठान गरेका छन्। यस सङ्ग्रहका निबन्धहरूको मुख्य विशेषता भन्नु बिर्सिएको इतिहास र पात्रलाई तिनका योगदानका आधारमा उज्यालोमा ल्याउने प्रयास नै हो। त्यसका लागि लेखकले आफ्ना गतिशील विचारको माध्यमबाट छायामा घाम दिने प्रयास गरेका छन्।
कहिलेकाहीँ उनका पात्रहरू दोहोरिएका पनि छन्, तर सन्दर्भ दोहोरिएको छैन। त्यसैले आफ्नो समयभन्दा धेरै पहिले आएर गएका पात्रहरूको दृष्टान्त दिएर आफ्नो युगप्रतिको दायित्वबोध गराउने यी वैचारिक निबन्धहरू विवरणात्मक हुँदाहुँदै पनि भावात्मक र भावात्मक हुँदाहुँदै पनि तार्किक बनेका छन्। लेखकीय सिर्जनशीलताको उदाहरणीय गद्यकृति काठमान्डू मोन्ताज् कला साहित्यका मात्र नभई युग र परिवेशप्रति सचेत सबै खाले पाठकका लागि एक आकर्षक शैलीको सङ्ग्रहनीय कृति रहेको छ।