पोखरा– पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा चितवन राइनोजले बुटवल ब्लास्टर्सलाई विशाल विजयी लक्ष्य दिएको छ। पहिले ब्याटिङ गरेको चितवनले बुटवललाई २ सय ४ रनको फराकिलो लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङ थालेको चितवनले पारस खड्का र रोहन मुस्ताफाको विस्फोटक पारीमा निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३ रन बनायो। ४० बलको सामना गरेका पारसले ६ चौका र २ छक्कासहित ६३ रन बनाए भने रोहनले ५६ बलमा ७ चौका र २ छक्काको मद्धतमा अविजित ७० रन बनाए भने आरिफ शेखले ४० रनको योगदान दिए।
चितवनले बनाएको यो योगफल पीपीएल क्रिकेटकै सर्वाधिक ठुलो रन हो। गत सिजन पोखराले विराटनगरविरुद्ध बनाएको १ सय ९७ रन बनाएको थियो। बुटवलको बलिङमा अफ्ताबुद्दीन अहमेदले २ तथा अविनास बोहराले १ विकेट लिए।