काठमाडौं — नेपाल चामल, तेल, दाल उद्योग सङ्घका केन्द्रीय अध्यक्ष तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष सुबोधकुमार गुप्ता र अर्थमन्त्री युवराज खतिवडा बिच भेटवार्ता भएको छ।
अध्यक्ष सुबोधकुमार गुप्ताले बीउवासङघ र नेपाल चामल, तेल र दाल उद्योग सघंका पदाधिकारी र उद्योगी व्यवसायीहरुबीच उद्योग र व्यवसायमा देखा परेका नीतिगत तथा व्यवहारीक समस्या समाधानका विषयमा बार्ता गरेका थिए।
त्यसैगरी अध्यक्ष गुप्ताले नेपाल सरकारले पछिल्लो समयमा ल्याएका अव्यवहारिक ऐन, नीति, नियम, कानूनले निजी क्षेत्र माँझ ठूलो अन्योल सिर्जना गरेको बताएका छन्। गुप्ताले सरकारले अनेक थरिका एैन कानुन नीति नियमले संघलाई सहजिकरण हुनुको साटो उल्टै अप्ठ्यारोमा पारेको बताएका छन्।
त्यसैगरी खुला सिमानाका कारण भारतबाट अबैध तरिकाले चामल आयात भएका कारण स्वदेशी चामल उद्योगहरु धारासायी भएको बताए। साथै चामल उद्योगहरुलाई संरक्षण गर्न चामल आयातमा १५ प्रतिशत महसुल लगाउन सुझाब समेत दिए। सोही क्रममा विगतका वर्षहरुमा तोरी तेलमा मू.अ.कर छुट सुविधा दिई र मुसुरो दाल निकासीमा अनुदान प्रदान गरिएकोमा सो प्रावधान हटाईएकोमा तेल मिल र दाल मिलहरु धारासायी हुने अवस्थामा पुगेकोले पूर्ववत् व्यवस्था गरी संरक्षण गर्न अनुरोध गरे।
अर्थमन्त्री युवराज खतिवडाले सङ्घका अध्यक्ष श्री गुप्ताबाट प्रस्तुत मुद्दाहरुप्रति आफु सकरात्मक रहेको बताए। मुलुकको अर्थतन्त्रलाई गतिशील तुल्याउने दिशामा सरकार गम्भीर रहेको धारणा व्यक्त गर्दै विद्यमान नीतिगत अस्पष्टतालाई समयसापेक्ष परिमार्जन गर्दै स्वदेशी उद्योगहरुलाई संरक्षण गर्ने प्रतिबद्धता जाहेर गरे। कार्यक्रममा नेपाल चामल, तेल, दाल उद्योग सङ्घका पूर्व अध्यक्ष कुमुद दुगड, उपाध्यक्ष राम थापा, महासचिव दीपक कुमारको उपस्थिति रहेको थियो।