एजेन्सी– भारतको राजधानी नयाँ दिल्लीका केहि स्थानमा मोबाइल डेटा, भ्वाइस, एसएमएस तथा इन्टरनेट सेवा बन्द भएको छ। नागरिकता संशोधन कानूनको विरोधमा प्रदर्शन तिब्र भएपछि दिल्ली सरकाले सेवा प्रदायकलाई निश्चित स्थानको सेवा बन्द गर्न निर्देशन दिएको हो।
निर्देशनको आधारमा सेवा प्रदायकले दिल्लीका केही स्थानमा फोन तथा इन्टरनेट सेवा बन्द गरेको त्यहाँको दूरसञ्चार कम्पनी एयरटेलले जनाएको छ। आफ्नो ट्वीटरमार्फत मोबाइल सेवा बन्द भएको विषय सार्वजनिक गरेको उसले अहिले उक्त ट्वीट भने डिलिट गरिसकेको छ।
भारतमा नागरिकता कानूनको संशोधनमा छिमेकी राष्ट्रबाट शरण लिन आउने हिन्दू, जैन, बौद्ध, सिख, फारसी र इसाई समुदायका ब्यक्तिलाई भारतीय नागरिकता दिने व्यवस्था गरिएको छ। यसैको विरोधमा दुई सातादेखी भारतका विभिन्न स्थानमा प्रर्दशन चर्किरहेको छ।
संशोधित विधेयकले यहि महिनाको सुरुवातमै भारतको दुबै सदनबाट पारित भइ कानुनको रुप लिइसकेको छ। त्यसमा ३१ डिसेम्बर २०१४ सम्म भारत प्रवेश गरेका शरणार्थीले भारतीय नागरिकता पाउने उल्लेख गरिएको छ।