काठमाडौँ– महाबीर पुनको नेतृत्वमा स्थापना भएको राष्ट्रिय आविष्कार केन्द्रसँग नेपाल प्रहरी र नेपाली सेनाले सहकार्य गर्ने भएका छन्। बुधबार दुबै सुरक्षा निकायका अधिकारीहरु आविष्कार केन्द्रमै पुगेर केन्द्रसँग टेक्नोलोजीको क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावित प्रोजेक्टहरुको बारेमा छलफल भएको महाबीर पुनले आफ्नो फेसबुक मार्फत जानकारी गरेका हुन्।
डीआईजी राजिव सुब्बाको नेतृत्वमा नेपाल प्रहरीको सात सदस्यीय प्राविधिक टिम राष्ट्रिय आविष्कार केन्द्रमा पुगेको थियो। त्यसै क्रममा नेपाल प्रहरीले आविष्कार केन्द्रसँग प्रविधिको क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावनाको विषयमा छलफल भएको र डीआईजी सुब्बाले रु.३० हजारको चेक पनि हस्तानतरण गरेको कुरा पुनले उल्लेख गरेका छन्।
त्यसै गरी नेपाल आर्मीको अनुसन्धान तथा विकास निर्देशनालयबाट ब्रिगेडियर जनरल दीपक घले गुरुङकाे नेतृत्वमा तीन जनाको टिम पनि पुगेको थियो। उक्त टिमले शैन्य क्षेत्रमा उपयोगी हुने किसिमको प्रविधि विकासमा आविष्कार केन्द्रसँग सहकार्य गर्न सकिने जानकारी गराएको पुनले फेसबुकमा उल्लेख गरेका छन्।
पुनको उक्त फेसबुक पोस्टमा डीआईजी राजिव सुब्बाले कमेन्ट गर्दै आफ्नो अमुल्य समय दिएकाेमा महावीर तथा राष्ट्रिय आविस्कार केन्द्रका अभियन्ताहरुलाई धन्यवाद व्यक्त गरेका छन्। यसका साथै उक्त सहकार्यले आगामी दिनहरुमा नेपाल र नेपालीको लागी योगदान दिने विश्वास अाफूहरूमा रहेकाे डीआईजी सुब्बाले कमेन्टमा उल्लेख गरेका छन्। उनले भनेका छन्, " हामीलाई आफ्नो अमुल्य समय दिनु भएकोमा महावीर सर तथा राष्ट्रिय आविस्कार केन्द्रका अभियन्ताहरुलाई हार्दिक धन्यवाद! आगामी दिनहरुमा हुने हाम्रो सहकार्यले पक्कै पनि नेपाल र नेपालीको लागी योगदान दिनेछ भन्ने विश्वास म र मेरा साथीहरुले लिएका छौं ! धन्यवाद !"
Mahabir Pun facebook post: click here