एजेन्सी–भारतमा ल्याइएको नागरिकता संशोधन ऐनको विरुद्धमा आन्दोलन झन् झन् चर्किँदै गइरहेको छ। यसैक्रममा बिहीबार वामपन्थी दलहरुले भारत बन्दको घोषणा गरेकोमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु हुनुका साथै सयौं मानिसहरु पक्राउ परेका छन्।
वामपन्थी घटकहरुलाई अन्य विभिन्न पक्षले समर्थन गरेका थिए। विरोध प्रदर्शनका क्रममा सरकारले राजधानी दिल्लीसहित उत्तर प्रदेश र कर्नाटकमा संविधानको धारा १४४ लगाइदिएको छ। यो धारा अन्तर्गत चारजना भन्दा बढी मानिसलाई भेला हुन निषेध छ।
देशका थुप्रै भागमा इन्टरनेट सेवा बन्द गरिएको छ भने राजधानी दिल्लीका कैंयौं मेट्रो स्टेशन हिजो बन्द गरिएको थिए। नयाँ नागरिकता कानुनमा पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आउने गैरमुश्लिम प्रवासीलाई भारतको नागरिकता दिने प्रावधान राखिएको छ । यसका आलोचकहरुले यो कानुनले भारतको धर्म निरपेक्षताको छबिमा असर गर्ने जनाउँदै आएका छन्।यद्यपि प्रधानमन्त्री नरेन्द्र मोदी र गृह मन्त्री अमित शाहले यो आरोप गलत भएको बताउँदै आएका छन् ।
विपक्षी र स्वतन्त्र नागरिकले पनि यो कुरा पत्याएका छैनन्। पीटीआईका अनुसार प्रहरीको फायरिङ्गमा कर्नाटका र मंगलगुरुमा दुईजनाको मृत्यु भएको छ। मंगलगुरुमा अहिले कर्फयु लगाइएको जनाइएको छ।