एजेन्सी– वैज्ञानिकहरुले प्राचीन कालमा ‘चुइिङ गम’ को काम गर्ने खाद्य पदार्थमार्फत एक ६ हजार वर्ष अगाडिकी महिलाबारे अनौठो तथ्य पत्ता लगाएका छन्। सो चुइङ गममा रहेको दाँतको निशानबाटै उनीहरुले ती युवतीको डीएनए पत्ता लगाइ जेनेटिक कोडको खोजी गर्न सफल भएका थिए।
अनुसन्धानकर्ताहरुका अनुसार मान्छेको हड्डी नभएर अन्यत्रै वस्तुमार्फत एउटा पूरै मानव जिनबारे पत्ता लगाइएको यो पहिलो घटना हो।यस्तोमा वैज्ञानिकहरुले ती युवतीको आँखा नीलो भएको र छाला अनि कपालको रङ कालो भएको विशेष जिनमार्फत् थाहा पाएका हुन्। तिनै जानकारीमार्फत एक चित्रकारले सो युवतीको स्वरुप बनाएका हुन् जसलाई ‘लोला’ नाम दिइएको छ। उनको अन्तिम खाना हेजलनट्स अर्थात कटुस र हाँसको मासु रहेको थियो तर पचाउन नसक्ने भएकाले दूधजन्य खानेकुरा चाहिँ कहिल्यै सेवन नगरेको बताइएको छ।
युनिभर्सिटी अफ कोपेनहागेनका डाक्टर हानेस स्क्रोएडारका अनुसार उक्त प्राचीन चुइङ गम रुखको टारबाट बनाइएको थियो जसलाई नै अहिले हामीले खाने चुइङ गमका रुपमा प्रयोग गरिएको हो। त्यतिबेलाका कुनै मान्छेको अवशेष फेला नपरेको अवस्थामा सो चुइङगमबाट प्राप्त डीएनए वास्तवमै अत्यन्तै महत्वपूर्ण साबित भएको उनको भनाइ छ।
किनकि सो क्षेत्र डेनमार्कको सबैभन्दा पुरातात्विक मानिएतापनि हालसम्म मानव शेष भेटिएको थिएन। यसमा वैज्ञानिकहरुले जेनेटिक कोडबाटै उनको रुप र आकृतिबारे अनुमान लगाउन सकेका हुन्। साथै डिएनएबाटै त्यसबेला मुख्य रुपमा खाइने खाना कटुस र एक प्रजातिको हाँस रहेको जानकारी पनि प्राप्त भएको हो। यसबारे विस्तृत रुपमा जर्नल ‘नेचर कम्युनिकेसन’ मा प्रकाशित गरिएको छ।
विशेष किसिमका जिनबाटै उनीहरुले सो युवतीको कपाल, आँखालगायतका शारीरिक विशेषता पत्ता लगाएका हुन्। यसरी सो डीएनएबाट तिनको मुखमा रहेका मानवीय ब्याक्टेरिया सम्बन्धी पनि थप जानकारी हासिल गर्न सकेको बताइएको छ। उनका मुखमा ज्वरो र निमोनिया निम्त्याउन सक्ने विभिन्न किसमका भाइरस थिए। रुखको टारमा केही एन्टिसेप्टिभ गुण हुने हुँदा दाँतको समस्या हुनेले पनि त्यसलाई चबाउने गरेको हुन सक्ने बताइएको छ।
प्राचीन समयमा यसलाई प्रायः गमका रुपमा केही कुरा टाँस्नका लागि प्रयोग गर्ने गरिन्थ्यो जुन तातो हुँदा पग्लिन्छ भने चिसो हुँदा कडा बन्छ। यस्तोमा सो चुइङ गमले टाइम क्याप्सुल जस्तै काम गरेको बताउँदै वैज्ञानिकहरुले उत्साहजनक प्रतिक्रिया दिएका हुन्। बीबीसी