एजेन्सी–अष्ट्रेलियामा आगलागीको घटना बढ्नुका साथै गर्मी अचाक्ली बढेको बेलामा प्रधानमन्त्री स्कट मोरिसन बिदामा बसेको विषयलाई लिएर सर्वसाधारणबाट चर्को आलोचना भएको छ ।
यो आलोचनापछि प्रधानमन्त्री मोरिसनले क्षमायाचना गरेका छन् उनी अज्ञात ठाउँमा परिवारसहित बिदामा गएको बताइएको छ। कतिपयले उनी अमेरिकाको हवाइमा बिदा मनाउन गएको बताए पनि सरकारी अधिकारीहरुले भने सो कुरा अस्वीकार गरेका छन्। उनी बिदा मनाउन गएको स्थान खुलिसकेको छैन।
ट्विटरमा ‘व्हेयर इज स्को मो’ ‘व्हेयर द ब्लडी हेल आर यु’ जस्ता ह्यासटयाग चर्चामा ल्याइएका छन्। यहि बीचमा अष्ट्रेलियामा करिब १०० आगलागीका घटना भएका छन् भने दुईवटा दिन इतिहासमै सबैभन्दा तातो भएको रेकर्ड गरिएको छ। बिहीबार मात्रै दुईजनाको आगलागी नियन्त्रणका क्रममा मृत्यु भएको छ। सो घटना सिडनी नजिकै भएको थियो।
प्रधानमन्त्री मोरिसनले क्षमायाचना गर्दै आफूले बिदा चाँडो भन्दा चाँडो टुंग्याउने बताएका छन्। उनको अनुपस्थितिलाई लिएर देशभित्र सर्बत्र निन्दा र विरोध भइरहेको छ।
‘‘आगलागीको समयमा परिवारसहित बिदा लिँदा प्रभावित अष्ट्रेलियनलाई पर्न गएको चोटप्रति म गहिरो खेद व्यक्त गर्दछु,’’ शुक्रबार प्रधानमन्त्रीले भनेका छन्। सेप्टेम्बर यता अष्ट्रेलियाको आगलागीका क्रममा ८ जनाको मृत्यु हुनुका साथै ७ सय घर क्षति भएका छन्। बीबीसी