काठमाडौं– नायक दिलिप रायमाझी सँग लोकदोहोरी गीत ‘छिपछिपे पानीमा लेउ’ बाट दर्शकको नजरमा लोकप्रिय बनेकी नायिका सुरक्षा पन्तले चलचित्र ‘आमा’ का लागि कपाल नै मुन्डन गरेकी छिन्। तर, कपाल मुन्डन गर्दाको दृश्य खिचिरहँदा उनलाई सजिलो भने भएन। सुरक्षाले चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा भनिन्, ‘मलाई कपाल मुन्डन गरिरहँदा गाह्रो भईरहेको थियो। मैले आफूलाई सम्हालिरहेकी थिएँ। यत्तिकैमा एक जना वुवा आउनुभयो र मेरो कपाल मुन्डन गरिदिनुभयो।
उहाँले मलाई निकै मायाले कपाल मुन्डन गर्नुभएको थियो। उहाँको मायाले नै मलाई भावुक बनाएको थियो।’ सुरक्षाले अगाडि भनिन्, ‘कपाल मुन्डन गरिदिएपछि बुवाले मलाई फिल्ममा यस्तो पनि गर्नुपर्ने रहेछ है भन्नुभयो। त्यो बेला मेरा आँखा रसाएँ। मलाई एउटा कलाकार भएकोमा खुशीको अनुभुती भैरहेको थियो।’ सुरक्षाले यो चलचित्रमा काम गर्दा आफू अभिनयको चरम विन्दुमा पुगेको बताइन्। भनिन्, ‘धेरै चलचित्रमा काम गर्दा अब त केही होला भन्दा भन्दै त्यो विन्दुमा पुग्न सकिदैन। तर, मैले यो चलचित्रमा काम गर्दा केही स्थानमा अभिनयको त्यो चरम विन्दु पाएकी छु।’
सूर्यमालाजीको ‘ब्याड लक’
यो चलचित्रको छायाँङ्कन प्रारम्भ हुँदा शिर्ष भूमिकामा कलाकार सूर्यमाला खनालले काम गरिरहेकी थिइन्। तर, पछि सूर्यमालाले नभ्याउने भएपछि कलाकार मिथिला शर्माको प्रवेश भएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै मिथिलाले यो चलचित्रमा काम गर्न नपाउनु सूर्यमाला खनालको ‘ब्याड लक’ भएको बताइन्। भनिन्, ‘उहाँ हजुरआमा बनेपछि यो चलचित्रमा काम गर्न सक्नुभएन। यो उहाँको ब्याड लक हो। तर, यो चलचित्रले मलाई दिदीबाट आमा बनाएको छ।’
मिथिला भन्छिन्, ‘लामो समयसम्म दर्शकले मलाई दिदी भनेर चिन्नुभयो। अब, यो चलचित्रपछि मलाई ‘आमा’ भनेर चिन्नुहुनेछ।’कार्यक्रममा बोल्दै निर्देशक तथा लेखक दीपेन्द्र के खनालले आफूहरुले एउटा सामान्य कथामा चलचित्र भन्न खोजेको बताए। चलचित्रका लागि घाम–पानी केही नभनिएको उनको भनाई थियो। दर्शकले एउटा मन छुने नेपालीपन बोकेको चलचित्र हेर्न पाउने दाबी खनालले गरे। शर्मिला पाण्डे निर्मित यो चलचित्र फागुणको ९ गतेबाट रिलिज हुँदैछ।