काठमाडौं– उत्कृष्ट विशेषता सहित नेपालमै पहिलो पटक मोटरसाइकल तयार भएको छ। नेपाली युवाको अथक प्रयासबाट निर्मित यात्री मोटरसाइकलको नाम ‘पी–०’ राखिएको छ।
नेपालमा पहिलो पटक बनेको मोटरसाइकलमा कस्ता विशेषता होला भन्नेमा धेरैको चासो छ। शुक्रबार साँझ उक्त मोटरसाइकलाई मिडियामार्फत् सार्वजनिक गरिने छ। निर्माण कम्पनीका अनुसार नवनिर्मित मोटरसाइकल पावरको हिसावले केटीएम ड्यूक ३९०, रोयल इन्फिल्डलगायत मोटरसाइकलभन्दा माथि रहेको छ।
डिजाइन र प्रिमियमनेस मुख्य आकर्षण भएतापनि यसका हरेक पाटर्स प्रिमियम रहेको डिजाइनर तथा यात्रीका प्रमुख असिम पाण्डेले बताएका छन्। अन्य इलेक्ट्रीक मोटरसाइकलको तुलनामा धेरै पावर रहेको यस मोटरसाइकलमा ३० किलोवाटको मोटर प्रयोग गरिएको छ।
४२ बीएच पावर र १२० एनएम टर्क प्रदान गर्ने यो मोटरसाइकल एक पटकको फुल चार्जमा २३० किलोमिटर गुड्ने बताइएको छ। ० देखि ६० किलोमिटरको स्पीड ४ सेकेन्डभन्दा कम समयमा भेट्टाउने यो मोटरसाइकलले ० देखि १०० किलोमिटरको रफ्तार ६ सेकेन्डभन्दा कम समयमा भेट्टाउन सक्छ।
मोटरसाइकलमा ६ किलोवाट पर आवरको व्याट्री प्याक दिइएको छ भने ८ वर्षको वारेन्टि दिइनेछ। यसमा प्रयोग भएको लिथियम आयोन व्याट्री यही डिजाइन भएको हो भने यसको चार्जिङ लाइफसाइकल २००० पटक रहेको छ। उक्त मोटरसाइकल इभी टेक आइसी इन्जिनसँग प्रतिस्पर्धा गर्ने भएकाले यसमा थप अध्ययन गरी विशेषताहरुको विस्तार गर्ने काम भइरहेको जनाइएको छ।