काठमाडौं– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो २ बजे बैठक बोलाइएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए। नेवाङका अनुसार बैठकमा शुक्रबारबाट सुरु हुने संसद् अधिवेशनका सन्दर्भमा सांसदहरूलाई ब्रिफिङ गरिनेछ।
संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने नेकपाका प्रचार विभाग उपप्रमुख एवंम् प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि प्रधानमन्त्री ओली बालुवाटारस्थित निवास बाहिरका कार्यक्रममा सहभागी भएका छैनन्। उनी आइतबारदेखि सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा पनि सहभागी भएनन्। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ लगायतका नेताले सांसदहरूलाई सम्बोधन गर्ने थापाले बताए।
शुक्रबार संसद अधिवेशन सुचारु हुने र संसदीय दलको बैठक भएकाले नेकपा स्थायी समितिको बैठक शनिबार बिहान ११ बजेका लागि बोलाएको छ ।सङ्घीय संसद्को हिउँदे अधिवेशन दिउँसो ४ बाट सुरु हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को पाँचौँ अधिवेशन यही पुस ४ गते शुक्रबार अपरान्ह ४ बजे प्रारम्भ हुनेगरी गत मङ्सिर २५ गते आह्वान गरेकी थिइन्।
पहिलो बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र सभाध्यक्षले पढेर सुनाइनेछ। यसबीचमा गरिएका मन्त्रिपरिषद् पुनःगठनलगायत सरकारका महत्वपूर्ण कामबारेमा संसद्लाई जानकारी दिइनेछ भने सत्ता र प्रतिपक्षी दलका सांसद्ले सार्वजनिक महत्व र जनजीवनका सवालमा ध्यानाकर्षण गराउनेछन्।