दार्चुला– नेत्रविक्रम चन्द (विप्लव) समूहका छ जना विद्यार्थी धरौटी रकम बुझाएर छुटेका छन्।
पक्राउ पर्नेमा डडेल्धुराको भागेश्वर गाउँपालिका–३ का २२ वर्षीय ललित सार्की, पर्शुराम नगरपालिका–५ का २३ वर्षीय गणेश बोहरा, बझाङको बुङ्गल गाउँपालिका–४ का २९ वर्षीय तिलक कुँवर, खप्तड छन्ना गाउँपालिका– ८ का २५ वर्षीय सुभास जोशी, दार्चुलाको मार्मा गाउँपालिका– ४ का १९ वर्षीय धनसिंह धाँमी र बाजुराको बूढीगङ्गा नगरपालिका–१० का २१ वर्षीय दीपक रावत रहेका थिए। उनीहरुलाई जनही रु आठ हजार धरौटी लिएर जिल्ला प्रशासन कार्यालयले छोडेको हो।
विद्यार्थी भएका कारण थोरै रकम धरौटी लिएर छाडिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए। यस्तै उक्त समूहले आफ्ना विद्यार्थी पक्राउ गरेर आफन्तलाई सहज भेटघाट गर्न नदिएको धरपकड गरेको, झुठा मुद्दा लगाई हिरासतमा राखेको भन्दै राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा उजुरीसमेत दिएको थियो। आयोगले उजुरी परेकाबारे जिल्ला प्रशासन कार्यालयलाई गत मङ्सिर १३ गते जानकारी माग गरेको थियो भने जिल्ला प्रशासन कार्यालयले यही पुस २ गते आयोगलाई घटनाबारे लिखित जवाफ दिएको थियो।
पक्राउ परेका विद्यार्थीले बसपार्क क्षेत्रमा प्रहरीसँग बादविवाद गरेको, हातपात गर्नुका साथै अभद्र व्यवहार गरेर भागेका कारण कानूनबमोजिम पक्राउ गरिएको जवाफ पठाएको जिल्ला प्रशासन कार्यालयले स्रोतले बताएको छ। प्रशासनले पक्राउ गरिएकालाई कानूनसम्मत म्याद थप प्रक्रियाको कागज बनाई राखिएको तथा उनीहरुमाथि कुनै पनि किसिमको शारीरिक तथा मानसिक यातना नदिएको उल्लेख गरेको छ।