काठमाडौं– नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक (आइजीपी)को पदावधि सकिन लागेसँगै अब प्रहरीको नेतृत्व कस्ले गर्ला भन्ने चर्चा शुरु भएको छ। हालका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगै एआइजी र डीआइजीको पदावधि माघमा सकिँदै छ। यससँगै प्रहरी प्रशासनभित्र आइजीपी बन्न चाहनेहरुको रेस शुरु भएको छ।
सरुवा, बढुवा र पदस्थापनको तयारी भएसँगै अहिले नेपाल प्रशासनको माहोल तातिएको छ। आइजीपीको बन्ने दौडमा सबैभन्दा अगाडि डीआईजी ठाकुर ज्ञवाली रहेको बताइन्छ। नेकपा निकट मानिएका र ज्ञवाली लाई नयाँ आइजीपीको प्रमुख दाबेदार मानिएको छ। डीआइजी ज्ञवाली आइजीपी भएमा उनी आगामी असारको अन्त्यसँगै अवकाश हुनेछन्। त्यस्तै डीआईजी तारिणी लम्साल र सूर्य उपाध्याय पनि ज्ञवालीसँगै उक्त रेसमा रहेका छन्।
त्यसैगरी प्रहरी भित्र एआइजी बन्नका लागि पनि छुट्टै किसिमको प्रतिस्पर्धा दखिएको छ। आइजीपी खनालको अवकासँगै डीआइजीबाट एकैचोटी आइजीपी बनाइने भएपछि एआइजी बन्नका लागि अर्को समुह रेसमा लागेको छ। अहिले डीआइजीहरुबाट एआइजी बनेकाहरुलाई आगामी साउनमा आइजीपी बनाइनेछ।
यदि ज्ञवाली आइजीपी भएमा डीआइजीहरु शैलेस थापा क्षेत्री र हरिबहादुर पालबीच एआइजीका लागि प्रतिस्पर्धा गर्नेछन्। महानगरीय आयुक्त कार्यालय रानीपोखरीमा कार्यरत डीआइजी शैलेस थापा एआइजी बढुवाका लागि दौडधुपमा लागेका छन्।
वर्तमान आइजीपीसँगै उनको ब्याचका प्रहरीहरुको अवकाश हुँदा डीआइजीका २१ पद एकैचोटी रिक्त हुनेछन्। त्यसकारण डीआइजीमा बढुवा हुनका लागि पनि प्रहरीभित्र तीव्र प्रतिस्पर्धा रहेको प्रहरी मुख्यालय श्रोतले बताएको छ। यस्तै सरकारले नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएसँगै सरुवा–बढुवाको चलखेल शुरु भएको छ।
मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरी प्रहरी मुख्यालयमा दरबन्दी पठाएपछि प्रहरीभित्र दौडधुप बढेको जनाइएको छ। नेपाल प्रहरीमा हाल जनपद र प्राविधिक गरी ७५ हजार ९ सय २७ जनाको दरबन्दी छ। तर, कार्यरत प्रहरीको संख्या ६४ हजार ३ सय २३ मात्रै छ । जुन संख्या पुरानो स्वीकृत दरबन्दीभन्दा ११ हजार ६०४ कम हो । नयाँ दरबन्दी थप भएसँगै प्रहरीमा कुल दरबन्दी ७९ हजार ५ सय २३ पुगेको छ।
पुरानो दरबन्दीबाट समेत गरी अब नेपाल प्रहरीमा कुल १५ हजार २ सय दरबन्दी रिक्त हुने भएको छ। थपिएका दरबन्दीमा ३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), चार जना प्रहरी उपरीक्षक (एसपी), २१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) र ४७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) छन्। यस्तै ८६ जना प्रहरी नायब निरीक्षक (सई), २ सय ९७ जना प्रहरी सहायक निरीक्षक (असई), ६ सय ८३ जना प्रहरी हवल्दार, २ हाजार २ सय १६ जना प्रहरी जवान र ३ हजार ५ सय ९६ जना कार्यालय सहयागीको दरबन्दी थप भएको छ।
थप गरिएको दरबन्दी जनपद र प्राविधिक दुवै गरेर हो। प्राविधिकतर्फ १ सय २९ जनाको दरबन्दी थपिएको छ। एसएसपी १, एसपी २, डीएसपी १२, इन्सपेक्टर २० लगायत गरी १२९ जनाको दरबन्दी थपिएको हो। एसएसपीमा यसअघि नै दुई पद रिक्त छन्। जसकारण चार पदमा यसपटक प्रतिस्पर्धा हुने देखिन्छ।
एसएसपी हुनका लागि हाल दुई दर्जन एसपीहरुले दौडधुपमा लागिसकेको छन्। स्रोतका अनुसार विष्णुबहादुर केसी, दुर्गा सिंह, भरतबहादुर बोहरा, रवीन्द्र केसी, कुबेर कडायत, राजेशनाथ बाँस्तोला, सुदीप गिरी, जनक भट्टराई, केदार ढकाललगायत त्यसको दौडमा लागेका हुन्। त्यस्तै अशोक सिंह, लालमणि आचार्य, नवराज भट्ट, राजेन्द्र विष्ट, उमाशंकर पन्जियार, किरण राणालगायत पनि प्रतिस्पर्धामा छन्। अब एसपीका आठ पद रिक्त हुनेछन्।
उच्च प्रहरी अधिकारीहरु ३० वर्षे सेवाहद हटाउन लागिरहेको खबर पनि सतहमा आएको छ। यसको प्रमुख कारण उनीहरुको अवकाश नै हो। स्रोतका अनुसार उनीहरुले यसबारेमा गृहमन्त्री तथा नेताहरुसँग निरन्तर कुरा गरिरहेका छन्।