काठमाडौँ– यसै पौष महिनाको १२ गते ललितपुरको जावलाखेल स्थित डीएभी स्कुल परीसरमा नेपालकै ठूलो प्रविधि तथा स्टार्टअपको प्रदर्शनी हुने भएको छ। गुगल बिजनेस ग्रुपको आयोजनामा सूचना प्रविधि सम्बन्धी प्रदर्शनी ‘जिबिजि बिजफेस्ट’ र ‘जिबिजि बिजस्टार्ट’ हुने भएको हो।
बिजस्टार्ट नाम दिइएको विशेष कार्यशालामा नेपालका स्टार्टअपका संस्थापकहरूले विशेषज्ञहरू मार्फत आफ्नो व्यवसायमा उपयोगी हुने गुगलका विभिन्न व्यापारिक प्रविधिहरु सहज रुपमा सिक्न तथा त्यसको प्रयोग मार्फत आफ्नोे व्यवसाय विस्तार गर्न सक्ने छन्।
नेपालमा क्लाउड कम्प्युटिङ सम्बन्धि काम गर्ने कम्पनी जेनेस सफ्टवेयर सोलुसनसँगको मुख्य सहकार्यमा हुने प्रदर्शनीमा देशभरबाट दुई सयभन्दा बढी नवउद्यमी तथा स्टार्टअपहरू सहभागी गराउने आयोजकको लक्ष छ। मेलामा देशभरबाट सहभागी स्टार्टअपहरूले आफ्नो उत्पादन र सेवाहरुको प्रदर्शन गर्नेछन्। कार्यक्रममा गुगलका प्रविधिमा चासो राख्ने तथा स्टार्टअप गर्न चाहने दश हजार भन्दाबढीले मेलाको अवलोकन गर्ने अपेक्षा समेत आयोजकले राखेको छ।
धेरै भन्दा धेरै स्टार्टअपहरु सहभागी गराउन प्रदर्शनीमा स्टल बुकिङ र सर्वसाधारणको प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ। अवलोकनकर्ताले देशभरका स्टार्टअपलाई एकै थलोमा देख्ने र बुझ्ने मौका पाउनेछन्। कार्यक्रमले स्टार्टअपहरुको विकास र प्रवर्धनमा टेवा पुर्याउने आयोजकको विश्वास छ।
आयोजकका अनुसार मेलामा ’गुगल माई बिजनेस’ सम्बन्धि एउटा विशेष स्टल रहने छ। प्रदर्शनीमा सहभागि स्टार्टअपहरूले उक्त स्टल मार्फत आफूलाई गुगलको व्यापार निर्देशिका (गुगल बिजनेस डाइरेक्टरी) मा आवद्ध गराउन सक्नेछन्।
त्यसबाट उनीहरुका लक्षित ग्राहकहरूले व्यवसाय र त्यसको विवरणहरू थाहा पाउन सक्नेछन्। यसका साथै उक्त व्यवसायहरु गुगल सर्च रिजल्ट पेजको पहिलो पृष्ठमा देखा पर्ने सम्भावना बढ्नेछ।
१२० स्टार्टअपको सहभागिता रहेको गत वर्षको प्रदर्शनी पाँच हजारभन्दा बढीले अवलोकन गरेका थिए।