एजेन्सी– उत्पादकहरुमध्ये स्मार्टफोन बिक्रीको दुई तिहाई नाफा एप्पलको मात्र रहेको छ। सन् २०१९ को तेस्रो त्रैमासिकमा स्मार्टफोन बिक्रीबाट कम्पनीहरुले कमाएको कूल नाफाको ६६ प्रतिशत एप्पलले मात्रै कमाएको हो।
बजार सम्बन्धी अनुसन्धान गर्ने कम्पनी काउन्टर प्वाइन्टले गरेको नयाँ अध्ययनले सन् २०२० मा स्मार्टफोन बिक्रीबाट कम्पनीहरुलाई हुने कुल नाफा ११ प्रतिशतले कमी आउने तथ्य औंल्याएको छ। सन् २०१९ मा कम्पनीहरुले स्मार्टफोन बिक्रीबाट करिब १२ अर्ब डलर नाफा गर्ने आंकलन छ।
अमेरिका, यूरोप र जापानमा रहेका आफ्ना उपभोक्ताका कारण एप्पलले बढी नाफा कमाएको अनुसन्धानले देखाएको छ। कूल आम्दानीको ३२ प्रतिशत हिस्सा एप्पलको छ भने कूल बजारको १७ प्रतिशत हिस्सा सामसङको रहेको रिपोर्टको दाबी छ। ग्यालेक्सी ए सिरिजका स्मार्टफोन र नोट टेन सिरिजका स्मार्टफोनको बिक्रीका कारण यो नाफा सामसङले हासिल गरेको रिपोर्टमा उल्लेख छ।
सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने टप टेन कम्पनीमध्ये सामसङ र हुवावेले मात्रै आफ्नो आम्दानी बृद्धि गर्न सफल भएका छन्। अन्य ब्राण्डको भने आम्दानी घटेको छ। आम्दानी घटे पनि एप्पलले भने सबैभन्दा बढी नाफा गर्ने कम्पनीमा आफूलाई उभ्याएको हो।