काठमाडौं– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युवा क्लब र सानमिगल मछिन्द्र क्लबले बराबरी खेलेका छन्। शुक्रबार दुबै टोलीले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा २८ औं मिनेटमा च्यासलले अग्रता बनाएको थियो। उसका लागि सन्तोष साहुखलले गोल गरेका थिए। त्यसको २ मिनेटपछि मछिन्द्रले बराबरीको सुन्दर मौका खेर फाल्यो। पहिलो हाफमा एक गोलले पछि परेको मछिन्द्रले दोस्रो हाफमा गोल गरेको थियो।
दोस्रो हाफको ५१ औं मिनेटमा अभिषेक रिजालले गोल गरेपनि रेफ्रीले अफसाइडको इसारा गरिदिए। हारतर्फ अघि बढेको मछिन्द्रको लागि ८८ औं मिनेटमा देवेन्द्र तामाङले गोल गरेका थिए। उनले विशाल राईको पासमा गोल गरेका थिए।