डोल्पा– चिसोका कारण बिग्रिएको टेलिफोन टावर बनाइएपछि फोन सेवा शुरु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–२ मा पर्ने रसीलेकमा राखिएको टावरमा नयाँ आडियु उपकरण जडान गरेसँगै अवरुद्ध भएको चार दिनपछि टेलिफोन सेवा सञ्चालन भएको हो।
रसीलेकमा राखिएको टावर बिग्रिएपछि सिङ्गो जिल्ला नै चार दिनसम्म टेलिफोन सेवाविहीन भए पनि आज बिहान ११ः०० बजेबाट नमस्ते र स्काइको मोबाइल सेवा, ल्याण्डलाइन सेवा, एडिएसएल इन्टरनेटलगायतका सबै प्रकारका सञ्चार सेवा सञ्चालन भएका छन्।
टावर आसपासको क्षेत्रमा परेको भारी हिमपातका कारण चिसोले ओसिएर टावरमा राखिएको माइक्रोवेभ आडियु बिग्रिएपछि मङ्गलबारदेखि जिल्ला सञ्चार सेवाविहीन भएको दूरसञ्चार कार्यालयका प्राविधिक नवराज भट्टराईले जानकारी दिए।
रसीलेकमा राखिएको टावरका लागि नेपालगञ्जबाट नयाँ आडियु उपकरण झिकाएर जडान गरेसँगै आजदेखि जिल्लाको दुनै, जुफाल, खदाङलगायतका क्षेत्रमा राखिएका टेलिफोन टावरबाट पनि फोन सेवा सञ्चालन भएको उनले बताएका छन्।
जिल्लामा भरपर्दो टेलिफोन सेवा नहुँदा एक महिनामा मात्रै दुईतीनपटक र हप्ता दिनसम्म पनि टेलिफोन सेवा ठप्प हुने गरेको छ। पटक–पटक अवरुद्ध भइरहने मोबाइल सेवालाई नियमित बनाउन सेवा प्रदायक कम्पनीलाई जिल्लावासीले आग्रह गरेका छन्। (रासस)