एजेन्सी– ट्वीटरका सीईओ ज्याक डोर्सीले फेसबुकका सीईओ मार्क जुकरबर्गलाई ट्वीटरमा अनफलो गरेका छन्। दुबै बीच विभिन्न मुद्दाहरुमा मत बाझिने गरेता पनि सोसल मिडियामा भने एकले अर्कोलाई फलो गर्दै आएका थिए। तर, फेसबुक र ट्वीटरका सीईओहरु बीचमा व्यक्तिगत रुपमै प्रतिद्वन्दीता रहेको पछिल्लो यो घटनाले सोसल मिडिया जगत गर्माएको छ।
जुकरबर्गलाई अनफलो गर्नुअघि डोर्सीले @bigtechalert नामक ट्वीटर अकाउन्ट फलो गरेका थिए। यो ट्वीटर अकाउन्टले प्रविधि कम्पनीका सीईओहरुको फलो तथा अनफलो गर्ने गतिविधिमाथि निगरानी गर्दछ। ट्वीटरमा आफूले जुकरबर्गलाई अनफलो गरेका कुरा दुनियाले थाहा पाउन् भन्नका लागि उनले उक्त अकाउन्ट फलो गरेको अनुमान गरिएको छ।
ज्याक डोर्सीबाट फलो पाएसँगै @bigtechalert ले तत्कालै ट्वीट गरेर जानकारी गराएको लगत्तै @bigtechalert ले अर्को ट्वीट गर्दै डोर्सीले @finkd नामक जुकरबर्गका ट्वीटर अकाउन्ट अनफलो गरेको जानकारी गरायो।
डोर्सीले जुकरबर्गलाई अनफलो गरेको उक्त ट्वीट आउनेबित्तिकै ट्वीटरको अफिसियल अकाउन्ट @twittercomms बाट तत्कालै उक्त ट्वीटमा प्रतिक्रिया लेखियो। जसमा जुकरबर्गले सन् २०१२ देखि उक्त अकाउन्टबाट कुनैपनि ट्वीट नगरेको र उनको अकाउन्ट केबल १२ वटामात्रै ट्वीट रहेको बताइएको छ।