एजेन्सी– टाटा मोटर्सले आफ्नो चर्चित इलेक्ट्रीक एसयूभी ‘नेक्शन इभी’ बजारमा सार्वजनिक गरेको छ। यसअघि नै १९ डिसेम्बरमा सार्वजनिक गर्ने घोषणा गरेको यो इलेक्ट्रीक एसयूभी आज भारतको मुम्बाईमा एक विशेष कार्यक्रम गरेर ग्लोबल प्रिमियर गरेको हो।
टाटा मोटर्सको नेपालको लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले भारतमा बिक्री सुरु भएको केही समयपछि यसलाई नेपाली बजारमा ल्याउने बताएको छ। कम्बस्चन इन्जिनयुक्त नेक्सनकै धेरै फिचर प्रयोग भएको यस इलेक्ट्रीक कारलाई कम्पनीले तीन भेरियन्टमा बजारमा ल्याउने घोषण गरेको छ। जसमा एक्सएम, एक्सजेड प्लास र एक्सजेड प्लस लग्जरी रहेको छ।
जिपट्रोन टेक्नोलोजीमा आधारित यो एसयूभीले फुलचार्जमा झन्डै ३०० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीले जनाएको छ भने यसमा ३०.२ किलोवाट आवरको हाइइनर्जी डेनसिटी लिथियम आयान ब्याट्री सेल दिइएको छ। यसमा रहेको व्याट्री चार्ज गर्न घरायसी चर्जरबाट ८ घण्टा लाग्छ भने डिसी फास्र्टचार्जरबाट चार्जगर्दा ६० मिनेटमा ८० प्रतिशत चार्जगर्न सकिन्छ। यसमा दिइएको व्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर वारेन्टी दिने कम्पनीले घोषणा गरेको छ।
सुरक्षालाई मध्यनजर गर्दै हाइ स्ट्रेन्थ स्टिल र बोस्टले ब्याट्रीलाई ढाकिएको छ भने टाटाको एसयूभीमा पहिलोपटक इलेक्ट्रीक सनरुफसमेत दिइएको छ।
भोलिबाट भारतमा बुकिङ सुरु हुने यसलाई २०२० को पहिलो क्वाटरबाट बिक्री गर्ने जनाइएको छ। यसको मूल्य १५ लाखदेखि १७ लाख रुपैयाँ बीचमा रहने अनुमान गरिएको भएपनि कम्पनीले यसको विषयमा भने कुनै जानकारी दिएको छैन।