काठमाडौं– नेपालमा १ बर्ष भरिमा जम्मा ८० भन्दा बढी नेपाली चलचित्र बन्छन्। चलचित्र ८० वटा बनेपनि व्यापारिक रुपमा आधा दर्जनले पनि लगानी उठाउन नसकेको दुखद्धाई अवस्था छ। केही चलचित्रका निर्माता मात्र मुनाफा कमाएर मख्ख पर्छन्। एक बर्षमा करिब ७० भन्दा बढी चलचित्रका निर्माताले लगानीको ५ प्रतिशत पनि फिर्ता पाउँदैनन्।
हाँस्य कलाकार केदार घिमिरेको तर्क छ, वर्षमा १२ वटा चलचित्र चल्नुपर्छ। बिहिबार आयोजना भएको चलचित्र ‘सेन्टी भाइरस’ को पत्रकार सम्मेलनमा केदारले भने, ‘बर्षमा १२ वटा चलचित्र राम्रो बन्न जरुरी छ। चलचित्रहरु राम्रा राम्रा बनुन्।’ उनले, यसको र उसको भन्दा पनि १२ वटा चलचित्र राम्रो बनेको खण्डमा चलचित्र क्षेत्र माथि जाने तर्क केदारको छ। उनले, चलचित्र ‘सेन्टी भाइरस’ पनि १२ वटा चलचित्रमा परोस् भनेर शुभकामना दिए।
केदारले सिताराम कट्टेल अभिनयमा फर्किएको भन्दै खुशी व्यक्त गरे। भने,‘सितारामले अभिनय नै नगरी कपाल फुलाउँछन् कि भन्ने लागेको थियो। उनी चलचित्रको पर्दामा फर्किएका छन्, मलाई खुशी लागेको छ।’ पछिल्लो समय सामाजिक काममा बढी सक्रिय भएर अभिनयमा कमै देखिएको कारण उनले यसो भनेका हुन्।