काठमाडौं– सहीद स्मारक ए डिभिजन लिग फुटबलमा बिग्रेड ब्वाईज क्बलले फ्रेण्ड्स क्लबलाई पराजित गर्दै पहिलो जित निकालेको छ। शुक्रबार भएको खेलमा ब्रिगेडले फ्रेण्ड्सलाई २–० गोलले हराएको हो।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुबै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन्। बराबरीतर्फ धकेलिएको खेलको अन्तिम समयमा ब्रिगेडले गोल गर्दै जित निकाल्यो।
ब्रिगेड ब्वाइजका लागि जय गुरुङले ८७ औं मिनेटमा पहिलो गोल गरेका थिए भने इन्जुरी समयको पहिलो मिनेटमा रोसन राना मगरले गोल थपेपछि ब्रिगेडले जित पक्का गरेको थियो। यसअघि पहिलो खेलमा ब्रिगेड ब्वाइज मछिन्द्रसँग पराजित भएको थियो।