विराटनगर– भर्खरै सम्पन्न साग खेलमा कास्य पदक विजेता विराटनगरकी राष्ट्रिय खेलाडी प्रेरणा कोइरालालाई शुक्रबार यहाँ सम्मान गरिएको छ। विराटनगर महानगरपालिका–११ वडा कार्यालयबाट गरिएको सो सम्मानमा कास्य पदक विजेता कोइरालालाई रु ११ हजार नगद र सम्मानपत्र प्रदान गरिएको छ।
प्रदेशसभा सदस्य नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले राष्ट्रको गरिमा बढाउन खेलाडीलाई उच्च सम्मान हुनुपर्ने बताए। उनले विजेता कोइरालालाई रु ५१ हजार नगद प्रदान गर्ने घोषणा गरे।
विराटनगर महानगरपालिकाका–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले कास्य पदक विजेताले राष्ट्रिय गौरव बढाएका बताए। सम्मानित खेलाडी कोइरालाले देशवासीको प्रेरणा र हौसलाले आगामी अझ सफलता पाउन मलाई उत्साह मिलेको छ भने। रासस