बागलुङ– गलकोट नगरपालिका–७ मल्ममा स्वास्थ्यचौकी भवन निर्माणका लागि स्थानीयवासीले चार रोपनी चार आना जग्गा निःशुल्क प्रदान गरेका छन्। आठ जना जग्गाधनीले रु एक करोड २९ लाख मूल्य बराबरको जग्गा दिएको जग्गा व्यवस्थापन समितिका उपसंयोजक वसन्त केसीले बताएका छन्।
स्थानीय होमबहादुर घिमिरेले आठ आना, गजेन्द्र, नारायण, भरत, टीकाबहादुर, लालबहादुर, टोपकली र गजेन्द्र कसीले पनि आठ आनाका दरले जग्गा प्रदान गरेको हो। गजेन्द्रले स्वास्थ्यचौकी जोड्ने सडकमार्गका लागि जग्गा दिएको समितिले जनाएको छ। ‘पहिले स्वास्थ्यचौकी रहेको ठाउँ अपुग हुने भएपछि जग्गाको खोजी भइरहेको थियो’, समितिका उपसंयोजक केसीले भने, ‘लामो प्रयास र छलफलपछि जग्गा व्यवस्थापन भएको छ, अब नयाँ मापदण्डअनुसारको भवन बन्ने निश्चित भयो।’
जग्गा अभावकै कारण नयाँ स्वास्थ्यचौकी भवन निर्माणमा ढिलाइ भएपछि वडा कार्यालयले पनि जग्गाको खोजीलाई तीव्र बनाएको थियो। शुक्रबार वडाको समन्वयमा जग्गा व्यवस्थापन समिति र जग्गादाताबीच लिखित मञ्जुरीनामा समेत गरिएको छ। तत्कालै स्वास्थ्यचौकीलाई जग्गा नामसारी दिने र निर्माणस्थलमा सडकको मार्ग खोल्ने निर्णय भएको जग्गादाता भरत केसीले बताएका छन्।
‘पहिले गाविस भवन बनाउँदा पनि जग्गा दिएका थियौँ’, उनले भने, ‘स्वास्थ्यचौकीलाई पनि अन्यत्र जग्गा नपाइएपछि हामीले नै दिने निर्णय ग¥यौँ।’ बेलैमा स्वास्थ्यचौकी भवन निर्माणका लागि वडा र नगरले विशेष पहल लिनुपर्ने उनको भनाइ छ। हाल स्वास्थ्यचौकी रहेको १२ आना जग्गा पनि स्थानीयवासी कर्णबहादुर केसीले निःशुल्क उपलब्ध गराएको थियो।
जग्गाको टुङ्गो लागेसँगै आधुनिक स्वास्थ्यचौकी भवन निर्माणको काम अघि बढ्ने कार्यवाहक वडाध्यक्ष लोकबहादुर थापाले बताएका छन्। जिल्लाका अधिकांश वडामा नयाँ मापदण्डअनुसारका स्वास्थ्यचौकी भवन निर्माण भइसकेको छ। कतिपय ठाउँमा जग्गा अभावकै कारण नयाँ स्वास्थ्यचौकी भवन निर्माण हुन सकेको छैन। (रासस)