काठमाडौं– हाल प्रधानमन्त्री केपी शर्मा ओली सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छन्। उनको स्वास्थ्यमा समस्या आएको कारण पनि उनी आफ्नो राय सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै आइरहेका छन्।
बालुवाटरबाट सामाजिक सञ्जालमा आउने गरेको विषयले निकै चर्चा कमाइरहेको छ। प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्टबाट भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीको ट्वीट रिट्वीट भएपछि यस्तै चर्चा र खैलाबैलाको अवस्था शुरू भएको छ।
ओलीको आधिकारिक ह्याण्डलबाट शुक्रबार साँझ सोनिया गान्धीको ट्वीट रिट्वीट भएको छ। यो विषय भारतीय विभिन्न मिडियामा समाचारको विषय बनेको छ भने सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको ट्वीटर ह्याण्डल पासवर्ड दुरुपयोग भएको आशंकामा छानविन भइरहेको उल्लेख गरेका छन्।
सोनिया गान्धीले भारतको विवादास्पद नागरिकता विधेयकका बारेमा पार्टीको धारणासहितको भिडियो तयार पारेर ट्वीट गरेकी थिइन्। यो विषयमा नेपालको आधिकारिक धारणा सार्वजनिक नभएपनि प्रधानमन्त्रीले गरेको रिट्वीटलाई धेरैले चर्चा गरेका छन्।
विवादास्पद नागरिकता विधेयकका कारण भारत अहिले अशान्त छ। भारतमा शरण लिइरहेका पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैरमुस्लिम समुदायलाई भारतीय नागरिकता दिने विधेयक संसदका दुवै सदनबाट पारित भएपछि भारतभर भइरहेको विरोध प्रदर्शनका कारण हालसम्म नौ जनाको ज्यान गइसकेको छ।