काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इन्डो प्यासिफिक रणनीति (आईपीएस) सँग जोडिए अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रस्ताव संसद्बाट अनुमोदन नहुने बताएका छन्।
संसदमा विचाराधीन अमेरिकी सहयोगसम्बन्धी एमसीसी प्रस्ताव अनुमोदन गर्ने कि नगर्ने भनेर नेकपामा विवाद भइरहेका बेला दाहालले संसदीय दलको बैठकमा शुक्रबार यसबारे बोलेका हुन्। अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली अनुपस्थित बैठकमा दाहालले आर्थिक विकाससँग मात्र जोडिए एमसीसी अनुमोदन गर्नुपर्ने धारणा राखेका थिए।
संसद् अधिवेशनको पहिलो दिन नेकपाले दलको बैठक बोलाएको थियो। ‘आईपीएससँग एमसीसी जोडियो भने स्वीकार गर्न सकिन्न’, दाहालको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘तर, आर्थिक समृद्धि र विकाससँग मात्र सम्बन्धित छ भने स्वीकार गर्न सकिन्छ।’ दाहालले एमसीसीबारे बुझिरहेको बताएका थिए।
नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले एमसीसी कुनै अरू देशका विरुद्धमा सञ्चालित हुने कुरा स्वीकार्य नहुने बताए। ‘एमसीसीका माध्यमद्वारा अरू देशका विरुद्ध सैन्य लक्षित कार्यक्रम स्वीकार गर्न सकिन्न’, दलको बैठकपछि नेता नेपालले सञ्चारकर्मीसँग भने, ‘तर, आर्थिक विषय मात्र हो भने आपत्ति छैन।’
नेकपाको जारी स्थायी समिति बैठकमा पनि एमसीसी अनुमोदन गर्ने कि नगर्नेबारे दुई धार देखिएको छ। भीम रावल, देव गुरुङलगायत नेताले एमसीसी संसदबाट अनुमोदन गर्न नहुने धारणा राखेका छन्।
‘लिम्पियाधुराबारे भारतको जवाफ आएन’
दाहालले लिम्पियाधुराबारे वार्ता गर्न सरकारले पठाएको पत्रको जवाफ भारतले नदिएको जानकारी बैठकमा गराएका थिए। भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नक्सा सार्वजनिक गरेपछि सरकारले पत्र पठाएको थियो।
‘लिम्पियाधुरा नेपालकै हो भन्ने अनेक प्रमाण र तथ्य हामीसँग छन्’, उनले भनेका थिए, ‘यस विषयमा भारतसँग कूटनीतिक र राजनीतिक वार्ता गर्नुपर्छ भन्नेमा पार्टी एकमत छ। तर, सरकारी पत्रको जवाफ भारतबाट नआएकाले वार्ताको प्रक्रिया अघि बढ्न सकेको छैन।’
उनले कर्मचारीतन्त्रलाई यसबारे बुझ्न भनिएको सुनाए। कूटनीतिक निकायले किन यस्ता विषयमा चासो नदेखाएको भन्दै सांसदले चासो देखाएपछि त्यसमा आफूले बुझ्ने जानकारी उनले दिएका थिए।
‘उपनिर्वाचनको नतिजाले गम्भीर’
अध्यक्ष दाहालले उपनिर्वाचनको परिणाम निराशाजनक नभए पनि पार्टीका लागि गम्भीर विषय बनेको बताएका थिए। नेकपाले संख्यात्मक रूपमा बढी सिट जिते पनि भक्तपुर, धरान र चितवनको परिणामले गम्भीर बनाएको उनको भनाइ थियो। उनका अनुसार सरकारका उपलब्धिको प्रचार गर्न नसक्दा अनि पार्टी एकताको काम सम्पन्न हुन नसक्दा उपनिर्वाचनमा असर परेको हो। उनले सरकारका उपलब्धि र काम जनताबीच लैजान सांसदहरूलाई निर्देशन दिएका थिए।
‘पहिले हाम्रो पार्टीका कमिटी पनि थिएनन्। सरकार र पार्टीबीच समन्वय हुन सकेन’, उनले भने, ‘पार्टी एकताको काम लगभग सकिएको छ। कमिटी गठन भएका छन्। सरकारका राम्रा काम जनतालाई भन्नुहोस्।’
दलका उपनेता सुवास नेम्बाङले उपनिर्वाचनमा केही स्थान गुमाए पनि कांग्रेसको प्रभावमा रहेका कतिपय स्थानमा पार्टीले जित हासिल गरेको जानकारी दिएका थिए। दलको बैठक उपनेता नेम्बाङको अध्यक्षतामा बसेको थियो।