लमजुङ– जिल्लामा धान उत्पादनमा वर्षेनी वृद्वि हुँदै गएको छ। उचित सिँचाइको व्यवस्था, समयमा पानी पर्नाका साथै उन्नत जातका बीउ प्रयोगसँगै धान उत्पादनमा वृद्धि भएको हो। सुन्दरबजार नगरपालिका–४ का किसान लक्ष्मण लामिछानेले करीब ३० रोपनी क्षेत्रफलमा उन्नत जातको धानखेती गरेर यस वर्ष ८० मुरी धान उत्पादन गरे।
गत वर्ष सोही क्षेत्रफलमै धान खेती गर्दा जम्मा ५० मुरी उत्पादन भए पनि यस वर्ष उत्पादनमा वृद्धि भएको उनले बताए। सोही क्षेत्रका किसान कृष्णप्रसाद अधिकारीले आठ रोपनी क्षेत्रफलमा उन्नत जातको धान खेती गरे। गत वर्ष १६ मुरी मात्रै धान उत्पादन भए पनि यस वर्ष १४ मुरी वृद्धि भएर ३० मुरी धान उत्पादन भएको उनको भनाइ छ।
यस वर्ष जिल्लामा १४ हजार २३० हेक्टर क्षेत्रफल जमीनमा लगाइएको धान खेतीबाट ४४ हजार १५५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र कार्यालयका कृषि अर्थ्विज्ञ मदन रेग्मीले बताएका छन्। उनले भने, ‘गत वर्षभन्दा धान खेती गरेको क्षेत्रफल घटे पनि यस वर्ष तुलात्मकरुपमा उत्पादन वृद्धि भएको छ।’
गत वर्षभन्दा ५६१ हेक्टर क्षेत्रफलमा धान खेती कम लगाइएको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ। जनशक्ति कम, पानी कम पर्नु, जग्गा जमीन बाँझो राख्नेलगायतका कारणले धान खेती कम क्षेत्रफलमा भएको कार्यालयका अर्थ्विज्ञ रेग्मीको भनाइ छ। कार्यालयका अनुसार आव २०७४७५ मा १४ हजार ७९१ हेक्टर क्षेक्रफल जमीनमा गरिएको धान खेतीबाट ४४ हजार ५४५ मेट्रिक टन धान उत्पादन भएको थियो ।
त्यस्तै, आव २०७३७४ मा १४ हजार ४९६ हेक्टर क्षेत्रफल जमीनमा गरिएको धान खेतीबाट ४३ हजार ८३० मेट्रिक टन उत्पादन भएको थियो। आव २०७२७३ मा १५ हजार ८०० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा ४० हजार ५७८ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
उन्नत जातको धानको बीउ प्रयोग, सिँचाइको सुविधा, आधुनिक कृषि प्रणालीका सामग्री प्रयोग, सिँचाइ योजना सञ्चालन हुनु, समयमै पानी पर्नुलगायतका कारण धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ। जिल्लाका ठुल्ठूला फाँट अलैँचेफाँट, भोर्लेटार, भोटेवडार, चक्रतीर्थ, धमिलीकुवा, साइलीटार, अल्काटारमा धान उत्पादन राम्रो भएको केन्द्रले जनाएको छ।
जिल्लामा सावित्री, रामधान, सुक्खा १, सुक्खा २, सुक्खा ३, लोकतन्त्र, सुनौलो सुगन्धजस्ता जातका धान किसानले लगाउँदै आएका छन्। पानी कम हुने ठाउँमा भने सुक्खा १, सुक्खा २, सुक्खा ३ लगाइने गरिएको किसान बताउँछन्। जिल्लामा ४५ हजार ५० हेक्टर क्षेक्रफल खेतीयोग्य जमीनमध्ये १५ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कार्यालयले जनाएको छ। जिल्लाका बासिन्दा अधिकांश कृषि पेशामा नै आवद्ध छन्। (रासस)