एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा शनिबार बार्सिलोना र अलाभेस भिड्दै छन्। वर्ष २०१९ को अन्तिम खेलमा बार्साले अलाभेसको सामना गर्न लागेको हो। खेल नेपाली समयअनुसार राति ८ः४५ बजे शुरु हुनेछ।
अर्जेन्टीनी स्टार तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी शनिबारको खेलमा नयाँ कीर्तिमान नजिक छन्। मेस्सीले वर्ष २०१९ मा अहिलेसम्म देश र क्लबका लागि ४९ गोल गरिसकेका छन्। उनले ५७ खेलबाट ४९ गोल गरेका हुन्। बार्सिलोनाको घरेलु मैदानमा हुने खेलमा मेस्सीले कम्तीमा एक गोल गरेमा गोलको अर्धशतक पूरा गर्नेछन्।
त्यतिमात्र हैन, उनले शनिबारको खेलमा गाेल गर्दै ५० गोल पूरा गरेमा उनी करियरमा नवौंपटक सिंगल क्यालेन्डर वर्षमा ५० गोल गर्ने खेलाडी बन्नेछन्। यो वर्षको सर्वाधिक गोलकर्तामा भने बार्यन म्युखिकका रोवर्ट लेवान्डोस्की रहेका छन्। उनले ५४ गोल गरेका छन्।