तुलसीपुर– प्रदेश नं ५ सरकारले दाङको देउखुरी क्षेत्रमा कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न विशेष अध्ययन सुरु गरेको छ। देउखुरीमा रेशम सुुपरजोन, भैँसी तथा माहुरीको स्रोतकेन्द्रका रुपमा विकास गर्न सम्भाव्यता अध्ययनन शुरु गरेको छ।
किट विकास केन्द्रका प्रमुख हरिहर अधिकारी, प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ अधिकृत श्रीधर ज्ञवाली, कार्यक्रम अधिकृत जगन्नाथ शर्मा, प्रदेशसभा सदस्य इन्द्रजित थारूले शनिबार स्थलगत अध्ययन गरे। काभ्रेको खोपासीमा रहेको स्रोतकेन्द्र आगामी दिनमा क्रियाशील हुुन नसक्ने भएपछि सरकारले वैकल्पिक स्थानको खोजी गरेको जनाइएको छ।
प्रदेश नं ५ अन्तर्गत दाङ देउखुरीको गढवामा रेशमखेतीको स्रोतकेन्द्र सञ्चालन गरी दाङलाई नेपालकै रेशम स्रोत केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुरुप जग्गाको खोजीमा लागेको किट विकास केन्द्रका प्रमुख अधिकारीले जानकारी दिएका छन्। गढवामा हाल ११ किसानले कृृषिफार्म दर्ता गरेर झण्डै ६० बिघा क्षेत्रफलको जग्गामा रेशमखेती गरिरहेका छन्।
गढवालाई रेशम सुपरजोनको रूपमा नेपाल र विश्वमै चिनाउने गाउँपालिकाको लक्ष्य रहेको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताएका छन्। हाल गढवाको वडा नं १ बनबारी, वडा नं ३ गोबरडिहा, वडा नं ४ हडैया र लमही नगरपालिका–६ ढिकपुरमा गरी झण्डै ६० बिघा क्षेत्रफलमा रेशमखेती भइरहेको नमूना रेशमखेती फार्मका अध्यक्ष रामलक्ष्मण शाहले जानकारी दिएका छन्।
प्रदेश सरकारले गढवालाई रेशमखेती स्रोत केन्द्र, देउखुरीकै राजपुर गाउँपालिकालाई भैँसीपालन स्रोत केन्द्र, घोराहीलाई मौैरीपालनको स्रोत केन्द्रका रूपमा छनोट गरेको मन्त्रालयका अधिकृत श्रीधर ज्ञवालीले बताएका छन्।
घोराहीमा माघी महोत्सव हुने
थारू कल्याणकारिणीसभा दाङको मुख्य आयोजना र विभिन्न सङ्घसंस्थाको सहआयोजनामा दाङको घोराहीमा माघी महोत्सव हुने भएको छ। थाकस दाङका अध्यक्ष भुवन चौधरीले दिएको जानकारीअनुसार शनिबार घोराहीमा भएको भेलाले यही पुस २५ र २६ गते घोराहीको कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा महोत्सव गर्ने निर्णय गरेको हो।
महोत्सवमा दाङ जिल्लाभरिका विभिन्न गाउँहरुको मघौटानाच, बर्कानाचसँगै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने थाकस दाङका सचिव प्रकाश चौधरीले जानकारी दिएका छन्। साथै महोत्सवमा थारू जातिका विभिन्न मौलिक खानपिनको संवाद एवं थारू हस्तकला र थारू संस्कृति झल्कने विभिन्न सामग्रीको प्रदर्शनीसमेत रहने बताइएको छ।
यसैबीच महोत्सवलाई सफल बनाउन थाकस दाङका सभापति भुवन चौधरीको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।
जेसिजको अध्यक्षमा सुनार
दाङको तुलसीपुर नगर जेसिजको अध्यक्षमा मोहन सुनारलाई चयन गरिएको छ। जेसिज वर्ष २०२० का लागि सुनारलाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरिएको हो। साथै कार्यकारिणी उपाध्यक्षमा एकराज भण्डारी र पूर्णबहादुर डाँगी, उपाध्यक्षमा मेघराज पोखरेल, वसन्त भण्डारी, कृष्ण पोखरेल, मदन गौतमलाई चयन गरिएको छ।
त्यस्तै सचिवमा छविकुमार ओलीलाई सर्वसम्मत चयन गरिएको हो। जेसिज तुलसीपुरको सातौँ अधिशनले नयाँ कार्यसमिति चयन गरेको प्रवक्ता नारायण भट्टराईले जानकारी दिएका छन्। नवनिर्मा्चित अध्यक्ष निर्वा्चित अध्यक्ष सुनारले युवाहरुलाई एकढिक्का बनाएर लैजाने बताएका छन्। (रासस)